
- रामहरी ओझा
डोटी । कुनै समय साथीहरूको लहैलहैमा लागेर लागुऔषधको कुलतमा फसेका हिमाल (नाम परिवर्तन) अहिले अरूलाई त्यही बाटोमा नहिँड्न सम्झाउँछन् । लागुऔषधकै कारण आफ्नै परिवारबाट टाढिँदै गएका उनी साथीभाइलाई कुलतका असरबारे सचेत गराउन थालेका छन् ।
उनको यो परिवर्तनमा सबैभन्दा ठूलो भूमिका रह्यो उनकै मिल्ने साथी तथा रुपान्तरण कक्षा सञ्चालन गर्ने परामर्शकर्ता प्रज्वल सुनारको । डोटीको दिपायल सिलगढी नगरपालिका–३ को एक निम्न–मध्यम वर्गीय परिवारमा जन्मिएका हिमाल उमेरले १६ बर्षका भए । आमाबुबा र चार जना दाजुभाइ–दिदीबहिनीसहित ६ जनाको परिवारमा हुर्किएका उनी सानैदेखि मेहनती र लगनशील थिए ।
कक्षा ८ सम्म पुग्दा पढाईमा पनि राम्रै थिए उनी । तर, त्यसपछि उनको जीवनले विस्तारै गलत मोड लिन थाल्यो । साथीहरूको दवाब र खराब संगतका कारण करिब दुई वर्षअघि उनले लागुऔषध सेवन गर्न थाले । सुरुवातमा साथीहरूको लहलहैमा गरिएको त्यो सेवन विस्तारै लतमा परिणत भयो । लागुऔषधको लत बढ्दै गएपछि उनको पढाई कमजोर हुँदै गयो ।
उनी बिद्यालय समेत आक्कल झुक्कल मात्रै जान थाले । छोराको व्यवहारमा आएको परिवर्तनले परिवारलाई चिन्तित बनायो । अभिभावकले सम्झाउने प्रयास गरे, तर हिमाल उनीहरूको कुरा सुन्न तयार भएनन् । पहिले परिवारका सबै सदस्यसँग मिलनसार र स्नेहपूर्ण व्यवहार गर्ने उनी विस्तारै आमाबुबा तथा दाजुभाइ–दिदीबहिनीलाई अनादर गर्ने, गाली गर्ने र घरायसी जिम्मेवारीबाट पन्छिन थाले । ‘राति अबेर घर आउन थाल्यो । कहाँ गएर बस्थ्यो, के गथ्र्यो, केही थाहै हुन्थेन,’ हिमालका बुवा भन्छन्, ‘यसले नियमित रूपमा विद्यालय जान पनि छोड्यो, गृहकार्य गर्न पनि छोड्यो ।’ अवस्था यतिसम्म बिग्रियो कि हिमाल आफ्नै साथीहरूसँग झगडा गर्न थाले ।
पढाईमा राम्रो र अनुशासित किशोर एकाएक गलत बाटोमा पुगेपछि परिवार मात्र होइन, उनका साथी, शिक्षक र छरछिमेकीसमेत चिन्तित भए । वडाका जनप्रतिनिधि तथा विभिन्न निकायहरूले पनि उनलाई सम्झाउने र सुधार्ने प्रयास गरे । तर, तत्काल उनको व्यवहारमा परिवर्तन आएन । छोरो नसुध्रिने भयो भन्ने चिन्ताले आमाबुवा आत्तिन थाले । रुपमान्तरण कक्षा बन्यो हिमालको सुधारक हिमालको अवस्था देखेर उनका मिल्ने साथी प्रज्वल सुनार झनै चिन्तित थिए । हिमालका साथी प्रज्वल दिपायल सिलगढी नगरपालिकामा सञ्चालन भईरहेको सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तरगत रुपमान्तरण कक्षामा अनुकुलक परामर्शकर्ताका रूपमा सक्रिय थिए ।
त्यसैले उनले हिमालललाई अरूले जस्तो सम्झाउने मात्रै भन्दा पनि साथीका रूपमा बुझ्ने प्रयास गरे । प्रज्वलले आफ्नै जीवन र बिभिन्न प्ररेणादायी व्यक्तिहरुका संघर्षका कथाहरु हिमालसँग बाँडे । आफू पनि कुनै समय जीवनमा आएको विचलनका कारण पढाइमा ध्यान गुमाएको, तर पछि आफ्नो जीवन सुधार्न प्रयास गरेको अनुभव उनले सुनाए । ‘तिमीले पनि चाह्यौ भने जीवन बदल्न सक्छौ’ भन्ने विश्वास दिलाउँदै प्रज्वलले हिमाललाई निरन्तर सल्लाह, परामर्श र भावनात्मक सहयोग दिए ।
उनलाई पुनः सामान्य अवस्थामा फर्काउन विद्यालय, परामर्शकर्ता, प्रहरी तथा अन्य सम्बन्धित निकायसँग समेत समन्वय गरे । शिक्षक तथा स्थानीयको निरन्तर सहयोग र परामर्शले विस्तारै हिमालमा परिवर्तन देखिन थाल्यो । उनले खराब बानी त्याग्दै पुनः पढाईलाई निरन्तरता दिन थाले । विद्यालय जान थालेपछि उनको व्यवहारमा पनि सुधार आयो । हिमालको परिवर्तनले अहिले उनका अभिभावक खुशी छन् । ‘अब त फेरि नियमित विद्यालय जान्छ, पढाइ पनि राम्रै छ’ हिमालकी आमा भन्छिन्, ‘अब त कुलतमा लाग्नु हुँदैन भनेर अरूलाई पनि प्रेरित गर्दैछ ।’ हिमालका लागि कुलतमा फसेको समय अहिले नराम्रो सपना जस्तै बनेको छ ।
उनी साथीहरूको लहैलहैमा लागेर आफू गलत बाटोमा पुगेको स्वीकार गर्छन् । ‘जे नहुनु थियो, भइहाल्यो । साथीसंगीको लहैलहैमा लागेर गलत बाटोमा हिँडिएछ,’ उनी भन्छन्, ‘म बेलैमा सुध्रिएँ । अब अरूलाई यस्ता हानिकारक बानीबाट टाढा रहन प्रोत्साहित गर्छु ।’ उनी कुलतकै कारण आफ्नो उमेरका करीव दुई बर्ष खेर गएको महसुस गर्छन् । उनले आफ्नो जीवन फेरी सामान्य अवस्थामा फर्किन्छ भन्ने आफूले कहिल्यै नसोचेको बताए । तर अहिले आफ्नो व्यवहार र पढाइमा उल्लेखनीय सुधार आएको उनको अनुभव छ ।
आगामी दिनमा त्यस्ता गल्ती नदोहो¥याउने उनको प्रतिबद्धता छ । हाल कक्षा ९ मा अध्ययनरत हिमाल भविश्यमा सामाजिक अभियन्ता बन्ने सपना बुनिरहेका छन् । उनी भन्छन् ‘लागुऔषध लगायत समाजमा रहेका बिभिन्न हानिकारक अभ्यासहरु बिरुद्ध सचेतना जगाउने अभियन्ताका रुपमा आफुलाई चिनाउन मन छ ।’ उनी बिद्यालयमा, टोल छिमेकमा किशोरकिशोरीहरुलाई कुलतबाट टाढा बस्न सिकाउउैछन् । उनी भन्छन् ‘ म कसरी कुलतमा फसेँ र कस्तो दुःख भोगे भन्ने कुरा सुनाउदैछु, जसले मजस्ता अरु साथीहरु पनि सचेत होउन् ।’
आफ्नो जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउन रुपान्तरण कक्षाका परामर्शकता प्रिय मित्र प्रज्वलको योगदान महत्वपूर्ण रहेको हिमालको बुझाई छ । ‘प्रज्वलले मलाई साथीको रूपमा बुझ्यो । गाली गरेर होइन, सम्झाएर र साथ दिएर सुधार्ने प्रयास ग¥यो’ उनी भन्छन्, ‘उनको साथ नपाएको भए म कहाँ पुग्थेँ, थाहा छैन ।’ गलत बाटोमा लागेर धेरै पाठ सिकेका विशाल अहिले अरू युवालाई कुलतबाट जोगाउने अभियानमा आफैं सचेतक बन्न थालेका छन् ।
उनको कथा केवल कुलतबाट फर्किएको एउटा किशोरको कथा होइन, सही समयमा सही व्यक्तिले दिएको साथ, विश्वास र परामर्शले जीवनको बाटो नै बदल्न सक्छ भन्ने उदाहरण पनि हो ।
(उमेरका कारण हिमालको बास्तविक पहिचान गोप्य राखिएको छ)

