
जेनजी शहीद परिवारहरूले जेनजी शहीद प्रथम स्मृति दिवसको कार्यक्रमबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालले सोमबार सिंहदरबारको दक्षिण गेटबाहिर प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै स्मृति दिवसको कार्यक्रमलाई अपमान हुने गरी सांसद धितालले अभिव्यक्ति दिएको आरोप लगाएका हुन् ।
जेनजी शहीद परिवार कल्याणकारी समाजका सचिव ठाकुरनाथ गौतमले शहीद परिवारलाई अहिलेसम्म कुनै प्रकारको सहयोग वा साथ नदिएको भन्दै उनीहरूको अपमान गर्ने अधिकार कसैलाई नभएको बताए ।
शहीद परिवार र घाइतेहरूको त्याग तथा बलिदानलाई हल्का रूपमा लिएर सचेतक धितालले सार्वजनिक रूपमा तल्लोस्तरको अभिव्यक्ति दिएको उनीहरूको आरोप छ ।
जेनजी शहीद प्रथम स्मृति दिवसलाई कन्सर्ट तथा मनोरञ्जनसँग जोडेर राजनीतिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले जनता र पीडित परिवारको भावनामाथि चोट पुर्याएको उनीहरूको तर्क छ ।
सांसद धितालको अभिव्यक्तिको रास्वपाले गम्भीर समीक्षा गरी संस्थागत धारणा सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ ।
साथै, शहीद परिवार र घाइते समुदायलाई चोट पुर्याउने अभिव्यक्तिविरुद्ध रास्वपाले आवश्यक कदम चाल्नुपर्ने उनीहरूले बताएका छन् । शहीद तथा घाइतेहरूको योगदानलाई दलीय राजनीतिक स्वार्थभन्दा माथि राखेर राष्ट्रिय सम्मानको विषय बनाउनुपर्ने उनीहरूको भनाइ छ ।

