असोज १५ सम्मको संसदीय क्यालेन्डरमा आएन प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

cp new add
Nisharg hospital

प्रतिनिधिसभाको आगामी असोज १५ गतेसम्मको संसदीय क्यालेन्डरमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम समावेश गरिएको छैन ।

प्रतिनिधिसभाले सार्वजनिक गरेको क्यालेन्डरमा कुन–कुन दिन बैठक बस्ने र सम्भावित कार्यसूची के हुने भन्ने उल्लेख भए पनि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको छैन ।

यसअघि भदौ १० गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने तय भएको थियो । तर सोही दिन रसुवाको भोटेकोशी क्षेत्रमा विनाशकारी बाढी आएपछि कार्यक्रम स्थगित भएको थियो ।

त्यसयता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम पुनः कहिले सञ्चालन गर्ने भन्ने टुंगो लागेको छैन ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ ।

नियम ५६ को उपनियम १ मा निर्धारित दिन कुनै कारणवश बैठक बस्न नसके त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि निर्धारण गर्नुपर्ने व्यवस्था छ ।

तर, नियमावलीमा व्यवस्था भए पनि आगामी असोज १५ गतेसम्मको संसदीय क्यालेन्डरमा प्रश्नोत्तर कार्यक्रम समावेश गरिएको छैन ।

क्यालेन्डरअनुसार भदौ ३० र ३१ गते तथा असोज १, ५, ६, ७, १३, १४ र १५ गते प्रतिनिधिसभाको बैठक बस्नेछ ।

यसबीचमा प्रतिनिधिसभामा रहेका विभिन्न विधेयकलाई संसदीय विषयगत समितिमा दफावार छलफलका लागि पठाउने तयारी छ । सोहीअनुसार क्यालेन्डरमा सम्भावित कार्यसूचीहरू समावेश गरिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...