
प्रेस काउन्सिल नेपालले आईसीयूमा उपचाररत व्यक्तिको अन्तर्वार्ता लिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले सोमबार विज्ञप्ति जारी गर्दै रसुवा बाढीमा माथिल्लो त्रिशूली–३ ए जलविद्युत आयोजनाबाट १० दिनपछि उद्धार गरिएका व्यक्तिको आईसीयूमै अन्तर्वार्ता लिएर ‘इन्साइड द बंकर’ नामक युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
त्यस्तै, बीबीसी नेपाली सेवाले पनि सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका एक पदयात्रीको अस्पतालमा उपचार भइरहेकै अवस्थामा आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा जानकारी प्राप्त भएको काउन्सिलले जनाएको छ ।
काउन्सिलले दुवै सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन गरिरहेको जनाएको छ ।
सम्बन्धित सञ्चारकर्मी, अस्पताल तथा नेपाल मेडिकल काउन्सिललाई समेत यस विषयमा ध्यानाकर्षण गराइएको काउन्सिलले जनाएको छ ।

