
काठमाडौँ । श्रम संस्कृति पार्टीले नेपालको राजनीति र नेतृत्व विकासमा विदेशी हस्तक्षेप भइरहेको विषयमा छानबिन गर्न सरकारसँग माग गरेको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर पार्टीका प्रमुख सचेतक आरेन राईले ‘द ग्रे जोन’को रिपोर्ट तथा सार्वजनिक कागजातले नेपालमा विदेशी सहयोगमा सञ्चालित राजनीतिक र नेतृत्व विकासका कार्यक्रमबारे गम्भीर प्रश्न उठाएको बताए ।
कागजातमा कसैको नाम उल्लेख हुँदैमा विदेशी हस्तक्षेप प्रमाणित नहुने भए पनि यस्ता विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ थियो । उनले नेपालमा विदेशी सरकार वा संस्थाको सहयोगमा सञ्चालित राजनीतिक, नेतृत्व विकास तथा युवा परिचालनसम्बन्धी कार्यक्रमको विवरण, बजेट र उद्देश्य सार्वजनिक गर्न माग गरे ।
त्यस्ता कार्यक्रमबाट कुन संस्था वा व्यक्तिले कस्तो तालिम तथा आर्थिक सहयोग प्राप्त गरेका छन् भन्ने विवरण संसद्मा पेस गर्नुपर्ने र विदेशी सहयोग निर्वाचन, नेतृत्व निर्माण वा सत्ता परिवर्तनमा प्रयोग भए/नभएको स्वतन्त्र तथा निष्पक्ष छानबिन हुनुपर्ने उनले बताए ।
राईले सामाजिक सञ्जालमा ‘द ग्रे जोन’को रिपोर्टलाई लिएर भइरहेको चर्चाप्रति टिप्पणी गर्दै सत्तापक्ष र केही दलका नेताहरूले विषयलाई राजनीतिक प्रतिशोधसँग जोडेको आरोप लगाए ।
उनले जेनजी आन्दोलनलाई कुनै दल वा व्यक्ति विशेषसँग जोडेर हेर्न नहुने बताए । नेपालको राजनीतिक भविष्य नेपाली जनताको मत, संविधान र नेपाली जनताको स्वार्थबाट निर्देशित हुनुपर्नेमा जोड दिँदै उनले विदेशी प्रभाव रोक्न स्पष्ट कानुनी मापदण्ड र संसदीय निगरानी आवश्यक रहेको बताए ।

