प्रमुख प्रशासकीय अधिकृत नियमित कार्यालय नआएको भन्दै गाउँपालिका अध्यक्षले काटे हाजिरी

cp new add
Nisharg hospital

सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साह नियमित रूपमा कार्यालयमा उपस्थित नभएको भन्दै उनको हाजिरी काटेका छन् ।

अध्यक्ष महतोले बुधबार प्रमुख प्रशासकीय अधिकृत साहको हाजिरी काटेका हुन् ।

अध्यक्ष महतोले चालु आर्थिक वर्ष सुरु भएयता प्रमुख प्रशासकीय अधिकृत साहको कार्यालयमा उपस्थिति न्यून रहेको दाबी गरेका छन् । उनका अनुसार साउन महिनामा साहको हाजिरी सात दिन मात्रै रहेको र बाँकी दिन ‘काठमाडौं काज’ उल्लेख गरिएको छ ।

‘यो हाम्रो कार्यकालको अन्तिम वर्ष हो । जनताका काम छिटो गर्नुपर्ने बेला प्रमुख प्रशासकीय अधिकृत नियमित रूपमा कार्यालयमा उपस्थित हुनुभएको छैन,’ अध्यक्ष महतोले भने ।

अध्यक्ष महतोले गत आर्थिक वर्ष गाउँ गौरव आयोजनाअन्तर्गत विनियोजित ९ करोड ४० लाख रुपैयाँ कर्मचारीकै कारण खर्च हुन नसकेर फ्रिज भएको आरोपसमेत लगाए ।

यता प्रमुख प्रशासकीय अधिकृत साहले भने अध्यक्षसँगको विवाद असार मसान्तदेखि नै सुरु भएको बताएका छन् । उनका अनुसार भदौ १० गते गाउँसभा सम्पन्न भए पनि बजेट तथा कार्यक्रम कानुनबमोजिम प्रमाणित नगरिएको विषयमा आफ्नो असहमति रहेको छ ।

‘गाउँसभा सम्पन्न भएको १५ दिनभित्र बजेट प्रमाणित गरी प्रमुख प्रशासकीय अधिकृतसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ,’ साहले भने, ‘त्यसपछि मात्रै अख्तियारी प्राप्त हुने र योजना कार्यान्वयन प्रक्रिया अघि बढ्ने हो ।’

उनले बजेटमा प्रशासनिक खर्च कटौती गरिएको र तर्जुमा दिग्दर्शनविपरीत बजेट ल्याइएको भन्दै गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्रसमेत बुझाएको बताए ।

आफू नियमित कार्यालय नगएको भन्ने अध्यक्षको आरोप साहले अस्वीकार गरेका छन् । उनले भदौ २४ र २५ गतेसम्म आफू कार्यालय गएको दाबी गर्दै स्वास्थ्य समस्याका कारण त्यसपछि नियमित रूपमा उपस्थित हुन नसकेको बताए ।

विवाद समाधानका लागि बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा छलफलसमेत भएको थियो । छलफलपछि गाउँपालिकाको कार्यपालिका बैठक बोलाउने निर्णय भएको जनाइएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...