
धनगढी । धनगढी उपमहानगरपालिकाले १२ वटा वडाका किसानलाई गहुँको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ ।
चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत कार्यक्रमअन्तर्गत खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान कार्यक्रममार्फत बीउ उपलब्ध गराउन लागिएको हो ।
कृषि विकास शाखाले सूचना जारी गर्दै वडा नं. ६, ७, ८, ९, १०, १२, १४, १५, १६, १७, १८ र १९ का इच्छुक कृषक, कृषक समूह तथा कृषि फर्मलाई असोज ६ गतेसम्म निवेदन दिन आह्वान गरेको छ ।
शाखाका अनुसार विजय, गौतम, एनएल–९७१ र आदित्य जातका गहुँको उन्नत बीउमा अनुदान दिइनेछ ।
अनुदानका लागि नागरिकताको प्रतिलिपि, वडा कार्यालयको सिफारिस तथा जग्गाधनी प्रमाणपुर्जा वा जग्गा सम्झौताको प्रतिलिपि पेस गर्नुपर्नेछ । ऐलानी जग्गामा खेती गर्ने किसानले वडा कार्यालयको सिफारिस पेस गर्नुपर्नेछ ।
कृषक समूह वा कृषि फर्मले दर्ता प्रमाणपत्र, प्यान, व्यवसाय दर्ता, कर चुक्ताको प्रतिलिपि तथा समूहको निर्णयको प्रतिलिपि पेस गर्नुपर्ने शाखाले जनाएको छ ।
निवेदन फारम सम्बन्धित वडा कार्यालय र उपमहानगरपालिकाको कृषि विकास शाखाबाट प्राप्त गर्न सकिनेछ । रीत नपुगेका वा म्याद नाघेर आएका निवेदनमाथि कारबाही नहुने शाखाले जनाएको छ ।

