
धनगढी । मुगुको सोरु गाउँपालिका–१० का दुई विद्यालयका प्रधानाध्यापक नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गतका वडा अधिवेशनमा सहभागी भएको विषय सार्वजनिक भएको छ।
महादेव आधारभूत विद्यालयका प्रधानाध्यापक धनमन सिंह मल्ल र हिमालय आधारभूत विद्यालयका प्रधानाध्यापक धनराज जैसी पार्टीका वडा अधिवेशनमा सहभागी भएका हुन्। उनीहरू असोज ३ गते सोरु–१० र असोज ४ गते सोरु–११ को वडा अधिवेशनमा पार्टीको झन्डा र टीका लगाएर सहभागी भएको देखिएको छ।
दुर्गम क्षेत्रका विद्यालयमा शिक्षकको नियमित उपस्थिति, पठनपाठन र शैक्षिक गुणस्तरमै चुनौती रहेको अवस्थामा विद्यालय नेतृत्व नै राजनीतिक गतिविधिमा खुलेर सहभागी भएपछि यसले प्रश्न उठाएको छ।
विद्यालयका प्रधानाध्यापक तथा शिक्षकको राजनीतिक संलग्नता र त्यसको पठनपाठनमा पर्ने प्रभावबारे सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ। उनीहरूले विद्यालयमा राजनीतिक गतिविधिभन्दा विद्यार्थीको पढाइ र भविष्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

