
काठमाडौँ। नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन दुई दिन सरेको छ। अब उद्घाटन समारोह यही असोज १८ गते छ। यसअघि असोज १६ गते उद्घाटन हुने र १९ गते सम्पन्न हुने भनिएको थियो।
महाधिवेशन उद्घाटन समारोह काठमाडौँको खुलामञ्चमा हुनेछ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार एक विज्ञप्ति जारी गर्दै महाधिवेशनको संशोधित कार्यक्रमबारे जानकारी गराएका हुन्।
‘नेपाली कांग्रेस १५ औं महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यसै बीचमा देशमा विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको छ ।
यस परिस्थितिलाई मध्येनजर गरी १५औं महाधिवेशन उद्घाटन समारोह २०८३ असोज १८ गते २ः०० बजे खुलामञ्चमा हुने जानकारी गराइन्छ।’

