
धनगढी । सुदूरपश्चिम प्रदेशबाट दुई हप्ता अघि सरुवा भएका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्र कुमार हमाल नै अहिले प्रदेशको बजेट बनाउन थालेका छन । यसअघिको बजेट बनाउदा पनि उनले बजेटमा बदमासी गरेको भन्दै सत्तारुढ दलका नेताहरुद्धारा नै आलोचना भएको थियो ।
सामान्य प्रशासन मन्त्रालयको २०८३ भाद्र ०२ गतेको पत्र अनुसार नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८३ भाद्र ३१ गतेको निर्णयअनुसार निजामती सेवा ऐन, २०४९ को दफा १८(१०) बमोजिम हमालको सरुवा गरिएको उल्लेख छ । हमालको भदौ ३१ गते नै राष्ट्रिय महिला आयोगको सचिवमा सरुवा भएको थियो । तर हमालले अहिलेसम्म रमाना बुझेका छैनन ।
संघ सरकार सामान्य प्रशनसन मन्त्रालयले उनको स्थानमा बलराम रिजालको सरुवा गरेको छ । रिजाल सोमबार मात्रै धनगढी पुगेका छन । उनले मंगलबार देखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर लगाएका छन । ‘सरुवा भएर आईयो, अहिलेसम्म जिम्मेवारी तोकिएको छैन । आज (मंगलबार) बाट मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा हाजिर भएको छु’ सचिव रिजालले भने ।
रिजाल आथिक क्षेत्रका विज्ञ हुन । उनले यसअभि संघीय अर्थ मन्त्रालयमा उपसचिव, आन्तरिक राजस्व विभाग तथा कर प्रशासनसँग सम्बन्धित जिम्मेवारी, लगानी बोर्डमा सहसचिव तथा प्रवक्ताका रूपमा कार्य गरिसकेका छन । यसअघिको सरकार बजेटकै कारण विवादमा आएको थियो । तत्कालिन मुख्यमन्त्री कमल बहादुर शाहको पालामा असार १ गते मध्यराती ल्याइएको झण्डै ३७ अर्वको बजेट सचिव हमालकै कारण विवादमा आएको थियो ।
हमालले मन्त्रालयहरुलाई लिईएको पूजीगत खर्चको सिलिङमा २५ देखि ४० प्रतिसत बजेट घटाई दिएका थिए । बजेटका बेला उनलाई तीन दिनसम्म फोन स्वीच अफ गरेर विषयगत मन्त्रीहरुको फोन समेत नउठाएको आरोप लागेको थियो । शिक्षा, स्वास्थ्य क्षेत्रको २५ करोड भन्दा बढी बजेट आन्तरिक मामिला मन्त्रालयमाफर्त हालेको, मन्त्री र उनको सचिवालयका ब्यक्तिहरुलाई आर्थिक मामिला मन्त्रालयमा प्रवेश रोक लगाएको, बजेट भाषण भएको चार दिनसम्म कर्मचारी बाहेक बाहिरका मान्छे ल्याएर बजेट ईन्ट्री गराएको र अधकांस टुक्रे र कमिशनका योजनाहरु मात्रै बजेटमा समावेश गरिएको जस्ता आरोप सचिव हमाल माथि लागेका थिए ।
सुदूरपश्चिममा बजेटकै कारण सत्ता परिवर्तन मात्रै होईन, एमालेले काँग्रेससँगको गठबन्धन समेत तोडेको थियो । बजेटकै कारण सरकार मात्रै होईन, गठबन्धन पनि नयाँ बनेकाले प्रदेशको बजेट राम्रो बनाउनका लागि प्रदेश सरकारले पूर्व महालेखा परिक्षक टंकमणी शर्मा र पूर्व अर्थमन्त्री तथा अर्थ विज्ञ झपट बोहरालाई सल्लाहकार समेत नियुक्त गरेको थियो । दुबै जनाले करिब एक महिना सम्म प्रदेशको बजेटको मोडेल बनाएर दिई सकेका छन । बजेट कै कारण सरकार ढलेको र सत्ता समिकरण फेरिएको भन्दै अब आउने बजेट राम्रो बनाउने भन्दै आर्थिक क्षेत्रका विज्ञ रहेका बलराम रिजालको सुदूरपश्चिम सरुवा गरिएको थियो । रिजालले यसघि २ पटक गण्डकी प्रदेशको बजेट पनि बनाई सकेका छन ।
सरुवा भएका सचिवलाई जिम्मेवारीको स्वार्थ के ?
सुदूरपश्चिममा अहिले भदौ ३१ गते नै सरुवा भएका सचिवलाई बजेट बनाउने जिम्मेवारी दिने स्वार्थ के हो रु भन्ने प्रश्न गरिन थालिएको छ । सुदूरश्चिममा नेकपा र एमालेको गठबन्धन सरकार छ । आर्थिक मामिला मन्त्री एमालेका चक्र बहादुर मल्ल छन । यसअघि (पास हुन नसकेको ) को बजेटको छलफलका क्रममा मल्ल नै आर्थिक मामिला मन्त्रालयका सचिवका सबैभन्दा विरोधी थिए । उनले प्रदेश सभामा आर्थिक सचिवका कारण बजेट विग्रेको र उनको सरुवाको माग समेत गरेका थिए ।
‘तर अहिले तीनै मल्ल आर्थिक मामिला मन्त्री भएका छन । उनले नै हमाललाई काखी च्यापेका छन, त्यसको स्वार्थ के हो रु हिजोका दिनमा बजेट विगारेको भन्ने ब्यक्ति मन्त्री भएपछि सचिवका प्रीय कसरी भए रु’ एमालेका एकजना प्रदेश सभा सदस्यले प्रश्न गरे । नेकपा एमाले पार्टी प्रदेश समिति र संसदीय दल पनि सरुवा भएका हमालले बजेट बनाउनु हुँदैन भन्नेमा छ । तर आर्थिक मामिला मन्त्रीले हमालबाटै बजेट बनाउने अड्डी कसेका एमाले स्रोतको भनाई छ ।
नेकपा एमालेका सुदूरपश्चिम ईञ्चार्ज दामोदर भण्डारी पनि सरुवा भएका सचिवलाई बजेट बनाउने जिम्मेवारी दिनुले प्रदेशका जनतामा राम्रो सन्देश नजाने बताउछन । नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावल पनि सरुवा भई सकेका अर्थ सचिवले बजेट बनाउने कार्य राम्रो नभएको बताउछन । ‘एमाले संसदीय दलले सचिव हमालबाट बजेट बनाउनु हुन्न भनिसकेको छ । तर न मुख्यमन्त्री मान्छन, न विषयगत मन्त्री नै’ एमाले संसदीय दलका नेता रावलले भने । ‘कर्मचारीको सरुवा सरकारको नियमित प्रकृया हो । उनको राष्ट्रिय महिला आयोगमा सरुवा भईसकेको छ । उनले रमाना बुझेर जाँजा उनकै लागि राम्रो हुन्छ ।’
हुन त प्रदेश मन्त्रालयहरुमा सचिवको सरुवा प्रदेश क्याबिनेटको निर्णयबाट हुन्छ । तर प्रदेशका मुख्यमन्त्री खगराज भट्ट पनि यसबारेमा खासै बोलेका छैनन । ‘प्रदेश मन्त्रिपरिषदको बैठकले हमाललाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा राखेर उनको ठाउँमा नयाँ आएका सचिव बलराम रिजाललाई जिम्मेवारी दिनसक्छ, तर मुख्यमन्त्रीले किन त्यस्तो गरिरहेका छैनन रु उनैलाई सोध्नु’ एमाले दलका नेता रावलले भने ।
पुरानो बजेटका योजना कायमै राख्न चलखेल
कर्मचारीको सरुवा सामान्य प्रकृया हो तर भदौमै सरुवा भएर पनि बजेट बनाउने जिम्मेवारी सरुवा भएकै सचिवलाई दिनुको पछाडि पुरानो बजेटमा पारिएका कमिशनका योजनाहरु कायम राख्ने र नयाँ बजेटमा पनि कमिशनको चलखेल भएको पनि चर्चा चल्न थालेको छ ।
स्रोत भन्छ, ‘पुरानो सरकारका पालामा राखिएका योजनाहरु कायम गर्नका लागि यस्तो चलखेल भईरहेको हो । यसका लागि पुरानो सत्ता गठबन्धनका नेताहरु पनि लागेका छन । अहिलेको संघीय सत्ताधारी रास्वपाका नेताहरु पनि लागि रहेका छन ।’
यसअघि फेल भएको बजेटमा तत्कालिन मुख्यमन्त्री कमल बहादुर शाहको निर्वाचन क्षेत्र आसपास मात्रै साढे ५ अर्वको बजेट परेको थियो । उनको निर्वाचन क्षेत्रका शिक्षा, स्वास्थ्यका करोडौंका योजना विषय नै नपर्ने आन्तरिक मामिला मन्त्रालयबाट ईन्ट्री गरिएका थिए । ‘यो सबै चलखेल पुरानो बजेटका बेलाको कमिशन फरफारकका लागि हो, यसमा अहिलेको सत्ता गठबन्धन मुछिनु हुदैन’ नेकपाका एक नेताले भने । ‘सचिवको सरुवा रोक्नेमा केन्द्रिय नेता, मुख्य सचिव, प्रधानमन्त्रीको सचिवालयको पनि चासो देखएको छ ।’

