
काठमाडौं । साउदी अरबमा फेसबुक पोस्टका कारण एक कामदारलाई मृत्युदण्डको सजाए सुनाइएको छ । श्रीलंकन नागरिक अनोजन शिवारासालाई साउदी अरबको अदालतले मृत्युदण्डको फैसला सुनाएको हो । फेसबुक पोस्टमार्फत इस्लाम धर्मको मानमर्दन गरेको भन्दै अदालतले उक्त फैसला सुनाएको हो ।
उक्त फैसलालगत्तै सजाए पुनरावलोकनका लागि श्रीलंकाले कूटनीतिक पहल अघि बढाएको छ । अदालतले मृत्युदण्डको फैसला सुनाए पनि उक्त फैसला कार्यान्वयनको मितिबारे केही खुलाइएको छैन । साउदीमा मृत्युदण्ड दिएपछि मात्रै निजका परिवारलाई जानकारी गराउने प्रचलन रहँदै आएको छ ।
श्रीलंकामा धार्मिक यात्राका क्रममा हिन्दु धर्मावलम्बीको ताँतीलाई पछ्याइरहेको कुकुरमाथि मुस्लिम युवाले लात्ता हानेको भिडियो भाइरल भएको थियो । त्यस घटनापछि सामाजिक सञ्जालमा जुहारी चलेको थियो । सोक्रममा अनोजनले मुस्लिम धर्मको मानमर्दन हुने खालको पोस्ट गरेका थिए । अनोजनले आफ्नो पोस्ट हटाउँदै तुरुन्तै माफी मागेका थिए । साउदीका सुरक्षा अधिकारीहरूले उनको पोस्टको प्रमाण देखाउँदै गत जुलाईमा उनलाई गिरफ्तार गरेका थिए ।
उनको मोबाइल साउदी अधिकारीहरूले जफत गरेका थिए । अनोजनलाई सुरुमा पाँच वर्षको जेल सजाए तोकिएको थियो । यस्तै, ३० लाख रियाल जरिवाना तोकिएको थियो । उनको सजाए घटाउन अपिल गरिए पनि अदालतले अस्वीकार गरेको श्रीलंकाका परराष्ट्रमन्त्री विजिथा हेर्थले बताए ।
१७ सेप्टेम्बरमा साउदीका अधिकारीहरूले अनोजनलाई शरिया कानुनअनुसार सजाएको माग गरे । उक्त माग सदर गर्दै त्यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएको हो । उक्त सजाएको मिनाहाको पहलका लागि श्रीलंकाले साउदीमा चार सदस्यीय प्रतिनिधिमण्डल पठाएको छ ।

