
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक फेरि शनिबारसम्मका लागि स्थगित गरिएको छ। बिहीबार बिहान ८ बजेका लागि बोलाइएको बैठक सरकारको आग्रहमा शनिबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए।
प्रदेश सरकारले बुधबार साँझ ५ बजे बस्ने बैठकमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरेको थियो। तर तयारी पूरा नभएपछि बैठक बिहीबार बिहानसम्मका लागि सारिएको थियो। मन्त्रालयगत बजेट प्रणालीमा भौतिक पूर्वाधार विकास मन्त्रालयका योजना इन्ट्री हुन नसकेको जनाउँदै बजेट प्रस्तुत गर्न नसकिएको बताइएको थियो।
यसबीच तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेटविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले बुधबार सरकार र रिट निवेदक दुवै पक्षलाई छलफलमा बोलाएको छ। सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ।
कानुनी जानकारहरूका अनुसार सर्वोच्चको आदेशले नयाँ बजेट ल्याउन भने रोकावट गर्दैन। तर प्रदेश सरकारभित्रको आन्तरिक किचलोका कारण बजेट प्रस्तुत गर्न ढिलाइ भइरहेको स्रोतको दाबी छ।
तत्कालीन सरकारले ल्याएको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि सुदूरपश्चिम प्रदेश अहिले बजेटविहीन अवस्थामा छ।

