नेपाली विद्यार्थीलाई न्यायोचित व्यवस्था गर्न अस्ट्रेलियालाई आग्रह

cp new add
Nisharg hospital

काठमाडौं । अस्ट्रेलियाले नेपालका बाढी प्रभावितका निम्ति थप १५ मिलियन अस्ट्रेलियन डलर (एक अर्ब ६१ करोड रुपैयाँ) सहयोगको घोषणा गरेको छ । अस्ट्रेलिया भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा त्यहाँका विदेशमन्त्री पेनी वङले यो घोषणा गरेकी हुन् । अस्ट्रेलियाले आपत्कालीन प्रतिकार्यका निम्ति यसअघि प्रतिबद्धता गरेको ११ मिलियन अस्ट्रेलियन डलर सहयोगमा उक्त रकम थप हुनेछ । नयाँ सहयोग राहत तथा प्रारम्भिक पुनर्लाभका कार्यमा केन्द्रित रहने जनाइएको छ ।

त्यस अवसरमा अस्ट्रेलियाकी विदेशमन्त्री वङले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो दुःख र सहानुभूति व्यक्त गरिन् । विपद्पछिको उद्धार, प्रारम्भिक पुनर्लाभ तथा पुनर्निर्माणका प्रयासमा अस्ट्रेलिया नेपालको साथमा रहेको उनले बताइन् । भेटवार्तामा जलवायु परिवर्तनबाट नेपाल र प्रशान्त क्षेत्रका मुलुकहरूमा परेको साझा जोखिमका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले हिमाली पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनले पारिरहेको असमान र गम्भीर प्रभावलाई विश्वसामु थप प्रभावकारी रूपमा उजागर गर्न आग्रह गरेका थिए । उनले जलवायु अनुकूलन, पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरण तथा तयारी र जलवायु–उत्थानशील पूर्वाधार निर्माणका क्षेत्रमा नेपाल–अस्ट्रेलिया सहकार्यलाई थप विस्तार गरिनुपर्नेमा जोड दिएका मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वङबीच बिहीबार मेलबर्नमा नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको हो । द्विपक्षीय भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको थियो ।

भेटवार्तामा दुवै मन्त्रीले नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कायम रहेको घनिष्ठ, मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेका थिए । लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान तथा जनस्तरको सुदृढ सम्बन्धमा आधारित दुई देशबीचको सहकार्यलाई आउँदा दिनमा थप विस्तार गर्ने विषयमा उनीहरूले जोड दिएका मन्त्रालयले जनाएको छ ।

दुई मन्त्रीबीच शैक्षिक सहकार्य विस्तारका विषयमा पनि छलफल भएको थियो । नेपालमा अस्ट्रेलियाबाट मान्यताप्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम (टीभीईटी) संस्थाहरू स्थापना गर्ने तथा अस्ट्रेलियाका विश्वविद्यालयका सम्भावित स्याटेलाइट क्याम्पस नेपालमा स्थापना गर्ने विषयमा पहल अघि बढाउने सम्भावनाबारे विचार आदानप्रदान भएको थियो ।

परराष्ट्रमन्त्री खनालले अस्ट्रेलियाको बहुसांस्कृतिक समाज तथा अर्थतन्त्रमा नेपाली विद्यार्थी र डायस्पोराले पुर्‍याउँदै आएको योगदान उल्लेख गरेका थिए । हालैका विद्यार्थी भिसासम्बन्धी नीतिगत परिवर्तनका क्रममा वास्तविक तथा योग्य नेपाली विद्यार्थीका निम्ति अनुकूल र न्यायोचित व्यवस्था गर्न उनले आग्रह गरेका मन्त्रालयले जनाएको छ ।

नेपाल–अस्ट्रेलिया आर्थिक साझेदारीलाई थप विस्तार गर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको थियो । व्यापार तथा प्रत्यक्ष वैदेशिक लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन प्रवद्र्धन, श्रम गतिशीलतालगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे छलफल गरिएको थियो ।

नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा समेत दुई पक्षबीच कुराकानी भएको मन्त्रालयले परराष्ट्र जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...