
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानमा ढिलाइ भएको छ।
मतपत्र तयार गर्न ढिलाइ भएका कारण बिहीबार दिउँसो साढे २ बजेदेखि सुरु हुने भनिएको मतदान ३ बजेसम्म पनि सुरु हुन सकेको छैन।
निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। तर, धेरै क्लस्टरको मतपत्र तयार नै भइनसकेकाले मतदान कतिबेलादेखि सुरु हुन्छ भन्नेबारे भन्न सकिने अवस्था नरहेको निर्वाचन समितिका एक सदस्यले बताए।
निर्वाचन समितिले पदाधिकारीका उम्मेदवारहरूसँग छलफल गरेपछि साढे २ बजेदेखि मतदान सुरु गर्ने तय गरेको थियो। यसअघि नै बिहानदेखि तीन पटक मतदानको समय सरिसकेको छ।
मतदान राष्ट्रिय सभा गृह र खुलामञ्चमा हुनेछ। राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र ‘क’ तोकिएको छ भने खुलामञ्चमा कोशी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिले मतदान गर्नेछन्।
त्यस्तै, हिमाल हलमा गण्डकी प्रदेश, तराई–मधेस हलमा मधेस प्रदेश तथा पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।
मतदानपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

