डोटीकी शिक्षिका प्रियंकालाई मर्न बाध्य पारेको आरोपमा उनका प्रेमी पुर्पक्षका लागि कारागार चलान

cp new add
Nisharg hospital

धनगढी । डोटीकी शिक्षिका प्रियंका श्रेष्ठको मृत्यु प्रकरणमा उनका प्रेमी सागर श्रेष्ठलाई जिल्ला अदालत डोटीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

प्रियंकालाई मानसिक तथा शारीरिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा पक्राउ परेका श्रेष्ठलाई अदालतले उपलब्ध प्रमाणका आधारमा तत्काल प्राप्त प्रमाणबाट कसुरमा निर्दोष देखिने अवस्था नरहेको भन्दै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।

प्रियंका श्रेष्ठले भदौ ३० गते दिउँसो करिब ३ बजे डोटीको दिपायल सिलगढी नगरपालिका–३ स्थित झोलुङ्गे पुलबाट सेती नदीमा हाम फालेकी थिइन्। उनको शव पछि कैलालीको टीकापुर नगरपालिका–२ मूलपानीस्थित कर्णाली नदीको पश्चिमी किनारमा फेला परेको थियो। शव परीक्षण मा प्रियंकाको मृत्यु पानीमा डुबेर भएको उल्लेख छ। घटनास्थल मुचुल्का, लास जाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनलगायतका कागजात अदालतमा पेस भएका छन्।

अदालतको आदेशमा सागर र प्रियंकाबीच प्रेम सम्बन्ध रहेको देखिने आधारसमेत उल्लेख गरिएको छ। उनीहरूबीच पटक–पटक मोबाइल सम्पर्क भएको कल डिटेल रेकर्डबाट देखिएको तथा सागरले फेसबुक म्यासेन्जरमार्फत प्रियंकालाई गरेका कुराकानीसमेत प्रमाणका रूपमा पेस भएको अदालतले जनाएको छ।

मिसिलमा संलग्न अडियोमा प्रियंकाले आफूलाई किन मानसिक यातना दिएको भन्दै सागरलाई प्रश्न गरेको विवरणसमेत उल्लेख छ। उपलब्ध प्रमाणबाट हालै सागरको संलग्नता नरहेको भन्न सकिने अवस्था नदेखिएको र थप प्रमाण परीक्षण आवश्यक रहेको ठहर गर्दै अदालतले उनलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।

अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को उपदफा (१) बमोजिम उक्त आदेश दिएको जनाएको छ। साथै मुद्दाको सुनुवाइका क्रममा सरकारी वकिल कार्यालय डोटीमार्फत तथा प्रतिवादीका साक्षीलाई नियमानुसार पेस गर्नसमेत आदेश दिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...