शङ्कास्पद गतिविधि देखे तत्काल १०० मा खबर गर्न प्रहरीको आग्रह

cp new add
Nisharg hospital

काठमाडौं । चाडपर्वका बेला शङ्कास्पद वा आपराधिक गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले सानो सूचनाले ठुलो अपराध वा दुर्घटना रोक्न सकिने भन्दै नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा निःशुल्क फोन गर्न आग्रह गरेका छन्। प्राप्त सूचनाको गोपनीयता कायम गरिने प्रहरीले जनाएको छ।

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ। यात्रु सुरक्षाका लागि देशभर ४०८ स्थानमा र भारत तथा चीनसँग जोडिएका सीमा नाकामा १०८ सहायता कक्ष स्थापना गरिएको छ।

प्रहरीले चोरी, डकैती, लुटपाट, जुवातास, अवैध सट्टेबाजी, कालोबजारी तथा सीमा अपराध रोक्न विशेष निगरानी बढाएको जनाएको छ। प्रमुख बजार, बैंक तथा वित्तीय संस्था, सीमा नाका लगायतका क्षेत्रमा ड्रोन र सीसीटीभीमार्फत निगरानी गरिनेछ।

त्यस्तै, नक्कली अनलाइन सपिङ, फेक इन्भेस्टमेन्ट, डिजिटल वालेट तथा मोबाइल बैंकिङ ठगी, फिसिङ, डीपफेक र सामाजिक सञ्जालबाट फैलिने गलत सूचनाप्रति सचेत रहन प्रहरीले आग्रह गरेको छ।

लामो दूरीका सवारीमा दुई चालकको व्यवस्था, चालकको लाइसेन्स तथा मादक पदार्थ सेवन परीक्षण र सवारीको यान्त्रिक अवस्था जाँच गरिने प्रहरीले जनाएको छ। क्षमताभन्दा बढी यात्रु बोक्ने, टिकटमा कालोबजारी गर्ने तथा लापरबाहीपूर्वक सवारी चलाउनेमाथि कारबाही गरिनेछ।

लामो समय घर बाहिर जाने नागरिकलाई घर खाली रहेको सूचना सामाजिक सञ्जालमा नराख्न तथा घरको सुरक्षा र विद्युत्–ग्यासको अवस्था जाँच गर्न पनि प्रहरीले आग्रह गरेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...