
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक सरेको छ । शनिबार बिहान ८ का लागि बोलाइएको प्रदेश सभाको बैठक साँझ ४ बजेसम्मका लागि सारिएको हो ।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बिहानको बैठक ४ बजेका लागि सारिएको जानकारी दिएका छन् । उनकाअनुसार बैठकमा प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।
गत बुधबार साँझ ५ बजे बस्ने प्रदेश सभाको बैठकमा बजेट ल्याउने तयारी थियो तर, सरकारको आन्तरिक तयारी नपुगेको भन्दै भोलिपल्ट बिहान ८ बजेका लागि बैठक बोलाइएपनि पछि शनिबारसम्मका लागि सारिएको थियो ।
भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयबीचको टकरावका कारण बजेटमा केही विवाद सिर्जना भएको स्रोतले जनाएको छ । भौतिक मन्त्री ओमबिक्रम भाटले बुुधबार सामाजिक सञ्जालमार्फत अर्थमन्त्री चक्रबहादुर मल्लप्रती कटाक्ष गर्र्दै बजेटमा राज गरेको आरोप लगाएका थिए । तर, पछि उनले स्टाटस हटाएका थिए ।

