


काठमाडौं । सवारीसाधन खरिदबिक्री तथा नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्था विभागले नयाँ व्यवस्था लागू गरेको छ । संशोधित व्यवस्थाअनुसार सवारीसाधनको पहिलो पटक नामसारी गर्दा डिलरमा गरिएको जाँचलाई नै मान्यता दिइने भएको छ । यससँगै नामसारीका लागि यातायात व्यवस्था कार्यालयमा पुनः जाँच गराउनुपर्ने बाध्यता हटेको छ ।


विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । विभागले असोज २६ गते सार्वजनिक सूचना जारी गरी मन्त्रीस्तरीय निर्णयबाट निर्देशिकाका केही प्रावधान संशोधन गरिएको जनाएको छ ।




संशोधित व्यवस्थाअनुसार निजी तथा सार्वजनिक सवारीसाधनको पहिलो पटक नामसारी गर्दा डिलरमा गरिएको जाँचलाई मान्यता दिइनेछ । यसअघि सवारीसाधन नामसारीका क्रममा यातायात व्यवस्था कार्यालयमा पुनः जाँच गराउनुपर्ने व्यवस्था थियो ।


त्यस्तै, सवारीसाधन बिक्री गर्ने डिलरले खरिदकर्ता स्वयं उपस्थित नभए पनि नामसारी प्रक्रिया पूरा गर्न सक्ने भएका छन् । यसका लागि खरिदकर्ताले वारेसनामा दिनुपर्नेछ ।
वारेसनामासँगै नेपाल सरकारबाट जारी सक्कल परिचयपत्र र खरिदकर्ताको फोटो पेस गर्नुपर्नेछ । साथै, सक्कल परिचयपत्रसहित वारेसनामा प्राप्त गर्ने व्यक्ति यातायात व्यवस्था कार्यालयमा उपस्थित भएमा दर्ता तथा नामसारीको काम सम्पन्न गर्न सकिने विभागले जनाएको छ ।
सवारीसाधनको बीमा गर्ने वा बीमा नवीकरण गर्ने प्रयोजनका लागि पनि सवारीधनी यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटाइएको छ । यसले बीमा तथा नवीकरण प्रक्रियामा लाग्ने समय र झन्झट घटाउने अपेक्षा गरिएको छ ।
विभागले निजी तथा सार्वजनिक सवारीसाधनको नामसारी प्रक्रियालाई थप व्यवस्थित बनाउन भेहिकल रजिस्ट्रेसन सिस्टम ९भीआरएस० लागू गर्ने तयारीसमेत अघि बढाएको छ । यसका लागि सवारी विक्रेता, वितरक तथा कम्पनीलाई प्रणालीमा आबद्ध गर्न मिल्ने प्राविधिक व्यवस्था गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइएको छ ।
विभागका अनुसार भीआरएसमा आबद्ध हुन इच्छुक सवारी विक्रेता, वितरक वा कम्पनीले आवश्यक पूर्वाधार तयार गरी सम्बन्धित यातायात व्यवस्था कार्यालयमा अनुरोध गर्नुपर्नेछ । त्यसपछि कार्यालयले एकपटक मात्र पहुँच हुने गरी बायोमेट्रिक लिन मिल्ने व्यवस्था गरेर सम्बन्धित कम्पनीलाई प्रणालीमा पहुँच उपलब्ध गराउनुपर्नेछ ।




