


काठमाडौं । दशैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या बढ्न थालेको छ ।


उपत्यकाबाट थानकोट नागढुंगा नाका, साँगाका नाका, दक्षिणकालीलगायत नाकाहरूबाट १ लाख बढी यात्रु बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथको तथ्यांक छ ।





उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एसएसपी सुरेश काफ्लेका अनुसार १ लाख ९ हजार ६३६ यात्रु उपत्यकाबाट बाहिरिएका छन् । जसमध्ये ६७ हजार ६९० पुरुष र ४१ हजार ९४६ महिला छन् ।

यो संख्या २५ र २६ असोजको हो । आज (२७ असोज)को तथ्यांक भने आउन बाँकी नै रहेको छ । २५ असोजमा ५२ हजार ८२७ यात्रु बाहिरिएका थिए । २६ असोजमा ५६ हजार ८०९ यात्रु बाहिरिए ।
ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँहरूमा यात्रु सहायता कक्ष स्थापना गरेर काम गरिरहेको छ । टिकटमा हुने कालोबजारी, ठगी, यात्रुका गुनासाहरू यात्रु सहायता कक्षमार्फत सम्बोधन भइरहेको एसएसपी काफ्लेले बताए ।




