


काठमाडौँ । आफूमाथि लागेका आरोपको सत्यतथ्य छानबिन गर्न सांसद खगेन्द्र सुनारले माग गरेका छन् । उनले आरोप प्रमाणित भए प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्नसमेत आग्रह गरेका हुन् ।



सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुनारले आफूमाथि लागेका आरोपको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका हुन् । आफूले कुनै गलत काम गरेको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको उनको भनाइ छ ।





‘माथि निर्मम छानबिन गरियोस्। आवश्यक परे प्रतिनिधिसभा सदस्य, पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गरियोस्,’ उनले लेखेका छन्, ‘म र मैले गरेको कुनै पनि कु–कर्मको पार्टी, सरकार सती जान पर्दैन।’सुनारले आफूमाथि लागेको आरोपको अनुसन्धान हुनुपर्नेमा जोड दिँदै यस प्रकरणमा जोडिएकी महिलामाथि भने मिडिया ट्रायल र अतिरञ्जित प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

उनले राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय महिलाको तस्बिर, अडियो र भिडियो जोडेर विभिन्न टिप्पणी गर्नु अस्वीकार्य भएको उल्लेख गरेका छन्। कुनै गल्ती भएको भए आफूमाथि प्रहरी वा अदालतमार्फत अनुसन्धान र कानुनी कारबाही हुनुपर्ने उनको भनाइ छ।






