


धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्कायका डिन, केन्द्रका निर्देशक र केन्द्रीय क्याम्पसको प्रिन्सिपलसहित ८ पदाधिकारी नियुक्त गरेको छ।


विश्वविद्यालय कार्यकारी परिषद्को २०८३ असोज २८ गते बसेको बैठकले पदाधिकारी सिफारिस समितिको सिफारिसका आधारमा नियुक्ति गर्ने निर्णय गरेको हो। विश्वविद्यालयले खुला प्रतिस्पर्धा र छनोटका विभिन्न चरण पूरा गरी योग्य ठहरिएका प्राध्यापकहरूलाई नियुक्त गरेको जनाएको छ।






नियुक्त हुनेमा व्यवस्थापन सङ्कायको डिनमा सहप्राध्यापक डा. शिवप्रसाद सापकोटा, शिक्षाशास्त्र सङ्कायको डिनमा सहप्राध्यापक डा. नाथुराम चौधरी, विज्ञान तथा प्रविधि सङ्कायको डिनमा सहप्राध्यापक डा. प्रेमसिंह साउद र स्वास्थ्य विज्ञान सङ्कायको डिनमा सहप्राध्यापक डा. डबल बहादुर थामी रहेका छन्।

त्यस्तै, मानविकी तथा सामाजिकशास्त्र सङ्कायको डिनमा प्राध्यापक डा. राजेन्द्रप्रसाद भट्ट नियुक्त भएका छन्। यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको निर्देशकमा सहप्राध्यापक डा. महेन्द्रराज जोशी, भाषा साहित्य तथा संस्कृति केन्द्रको निर्देशकमा प्राध्यापक डा. हरिशचन्द्र भट्ट र केन्द्रीय क्याम्पसको प्रिन्सिपलमा डा. दीपकचन्द्र भट्ट नियुक्त भएका छन्।
नवनियुक्त पदाधिकारीहरूले सम्बन्धित सङ्काय, केन्द्र तथा क्याम्पसको प्राज्ञिक र प्रशासनिक नेतृत्व सम्हाल्नेछन्।






