


काठमाडौं । बिहीबारदेखि आइतबारसम्म नेपालका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेकाले मौसमविद्ले किसानलाई धान नकाट्न सुझाव दिएका छन् ।


मौसमविद् विनोद पोखरेलका अनुसार बंगालको खाडीमा बन्ने न्यूनचापीय प्रणाली चक्रवातमा विकसित हुने सम्भावना छ । उक्त प्रणालीको प्रभावले नेपालका विभिन्न स्थानमा झरी पर्नुका साथै केही ठाउँमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।






धान पाकिसकेको र काटेर सुकाई सुरक्षित रूपमा भित्र्याउन समय पुग्ने अवस्था भए स्थानीय मौसमको जानकारी लिएर मंगलबारअगावै काम सक्न उनले सुझाव दिएका छन् ।

पोखरेलले विशेषगरी किसान तथा हिमाली क्षेत्रमा यात्रा र ट्रेकिङमा जानेहरूलाई सतर्क रहन आग्रह गरेका छन् । उच्च हिमाली क्षेत्रमा भारी हिमपात र चिसो बढ्न सक्ने भएकाले नियमित मौसम अपडेट र आधिकारिक सूचना हेरेर मात्रै यात्रा योजना बनाउन उनको सुझाव छ ।
उनका अनुसार तल्लो तहको न्यूनचापीय प्रणाली र माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखाको अनुकूल प्रभावले नेपालमा भारी वर्षाको सम्भावना बढाएको हो ।
विशेषगरी कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षाको सम्भावना बढी रहेको पोखरेलले बताएका छन् । यद्यपि, वर्षा सुरु हुने समय, स्थान र मात्रा पूर्वानुमानभन्दा फरक हुन सक्ने भएकाले मौसमको नियमित जानकारी लिन उनले आग्रह गरेका छन् ।






