


आपराधिक लाभ लिन खोजेको तथा बाल यौनदुरुपयोगसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२० का २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोषकुमार दास, २२ वर्षीय पनेशकुमार महतो र ३० वर्षीय सुजित महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी अधिकारी ओमप्रकाश खनालले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएका हुन् ।






प्रहरीका अनुसार जनकपुरधाम–२० मा एक बालिका र एक युवकमाथि दुर्व्यवहार गर्दै भिडियो बनाएको र उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

आरोपितहरूले पीडितलाई घेरा हाली भिडियो बनाउनुका साथै भिडियो सार्वजनिक गरिदिने धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरूले पीडितका अभिभावकलाई फोन गरेर धम्क्याउँदै मोबाइल बैंकिङमार्फत ६ हजार रुपैयाँसमेत स्थानान्तरण गर्न लगाएको प्रहरीको भनाइ छ ।
प्रहरीले आरोपितहरूको साथबाट ज १२ प ७७७७ र मधेश प्रदेश ०२–०१ प २९०२ नम्बरका दुई मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका चारै जनामाथि आपराधिक लाभ लिन नहुने तथा बाल यौनदुरुपयोगसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।






