


मानव सभ्यताको इतिहास हेर्दा मानिसले मानिसमाथि नै अनेकौँ प्रकारका हिंसा र शोषण गरेको पाइन्छ। रङ, जाति, वर्ण, लिङ्ग, धर्म र सामाजिक हैसियतका आधारमा मानिसमाथि विभेद तथा अमानवीय व्यवहार गरिएका अनेकौँ ऐतिहासिक उदाहरण छन्।







समयक्रममा यस्ता व्यवहारविरुद्ध आवाज उठे, सामाजिक आन्दोलनहरू भए र मानव अधिकारसम्बन्धी मान्यता तथा कानुनहरू विकसित हुँदै गए। यद्यपि मानवमाथि हुने सबै प्रकारका हिंसा र शोषण अन्त्य भइसकेका छैनन्। तर तिनको विरोध गर्ने र अधिकार संरक्षणका प्रयासहरू विकसित भएका छन्।

यसैसँगै वर्तमान समयमा पशु अधिकारको आवाज पनि विश्वभर उठिरहेको छ। मानव चेतनाको विकाससँगै एकातिर मानिसहरू पशु अधिकारका पक्षमा सक्रिय भएर आवाज उठाइरहेका छन् भने अर्कोतिर व्यावसायिक पशुपालनको विस्तार र पशुजन्य उत्पादनका लागि प्रयोग हुने आधुनिक प्रविधिले पशु शोषणका नयाँ तथा व्यापक स्वरूपहरू सिर्जना गरेका छन्। विभिन्न तरिकाले आज पनि समाजमा पशुहिंसा व्याप्त छ।
पशुपन्छीमाथि हुने हिंसा र शोषणका विषयमा बहस बढ्दै जाँदा पशु अधिकारको वकालत गर्नेहरूको सक्रियता पनि बढिरहेको छ। नेपालमा पशु अधिकारकर्मीहरूले वर्षैभर यस क्षेत्रमा काम गरिरहे पनि दशैँ, गढीमाई मेला वा अन्य चाडपर्वका बेला उनीहरू अझ बढी सक्रिय देखिन्छन्। यही सक्रियतालाई समाजको एउटा वर्गले आलोचनात्मक दृष्टिले हेर्ने गरेको पाइन्छ।
पशु अधिकारका लागि आवाज उठाउँदा धेरैले गर्ने आलोचनात्मक तर्क हो, “दशैँमा मात्रै बोल्छौ। तर अन्य धर्मावलम्बीहरूले पनि आफ्ना चाडपर्वमा पशुहिंसा गर्छन्, त्यो बेला कहाँ हुन्छौ?”
प्राणीमाथि हुने हिंसाविरुद्ध आवाज उठाउँदा त्यसमा प्रश्न उठाउनै हुँदैन भन्ने होइन। कुनै पनि विषयमाथि प्रश्न गर्नु र आलोचनात्मक सोच राख्नु गलत होइन। किनभने तर्कपूर्ण आलोचनाले वास्तविकता उजागर गर्न मद्दत गर्छ। तर, यस विषयलाई आरोप–प्रत्यारोपबाट भन्दा पनि विवेक, तर्क र मानवीय संवेदनाका आधारमा बुझ्न आवश्यक छ।
पशु अधिकारको आवाज वर्षैभर उठिरहेको हुन्छ
अधिकारकर्मीहरू दशैँलगायत केही चाडपर्वको बेला बढी सक्रिय देखिए पनि उनीहरुले वर्षैभर हिंसाविरुद्ध आवाज उठाइरहेका हुन्छन्। उनीहरूका विगतका गतिविधि, अभियान र कामको अध्ययन गर्दा यसबारे जानकारी लिन सकिन्छ। कुनै व्यक्तिको विचारसँग असहमत हुनु स्वाभाविक हो, तर पर्याप्त जानकारीबिना उसको सक्रियतामाथि प्रश्न उठाउनु न्यायसङ्गत हुँदैन।
जहाँ समस्या देखिन्छ, त्यहाँ आवाज उठ्छ
नेपालमा दशैँको समयमा पशुबलिको विशेष रूपले चर्चा हुने गर्दछ। सार्वजनिक स्थानमा जनावरमाथि अमानवीय तरिकाले हिंसा हुने गर्दछ। सामाजिक सञ्जालमा यस प्रकारका हृदय विदारक घटनाहरू छ्यापछ्याप्ती भरिएका हुन्छन्। यस्तो बेलामा अधिकारकर्मीहरु आफ्नो आवाज अझै प्रभावकारी तवरले उठाउँछन् किनकि यो बेलामा समस्या अझै पारदर्शी हुन्छ।
नेपालमा दशैँको आसपासमा र गढीमाई मेलामा बढी मात्रामा बलि दिने गरेको देखिन्छ। यसकारण अधिकारकर्मीहरू पनि त्यो समयमा बढी सक्रिय देखिन सक्छन्। योसँगै दशैंको बेलामा पशुपन्छीलाई अति क्रूर तरिकाले ढुवानी गर्ने गरेको जगजाहेर नै छ। यो बेलामा प्रश्न त ती व्यक्तिमाथि गरिनुपर्ने हो, जसले हिंसा गर्दछन् र जसले हिंसाको समर्थन गर्दछन्। तर, हामी त्यसलाई प्रश्न गर्छौं, जसले हिंसाविरुद्ध बोलिरहेको हुन्छ।
सामाजिक परिवर्तनको सुरुवात प्रायः आफ्नै समुदाय र वरपर देखिएका समस्यामाथि प्रश्न उठाएर हुन्छ। पशु अधिकारकर्मीहरूले पनि आफ्नो समुदायमा देखिएको गलत प्रथाविरुद्ध बोल्ने गरेका हुन्। यसको अर्थ उनीहरूले अन्य समुदायमा हुने पशुहिंसालाई स्वीकार गरेका छन् भन्ने होइन। पशुहिंसा वा अन्य कुनै पनी हिंसा जहाँ भए पनि त्यसको विरोध हुनुपर्छ।

हिंसाको विरोध दशैँको विरोध होइन
पशुहिंसाको विरुद्धमा आवाज उठाउने व्यक्तिहरू चाडपर्वका विरोधी होइनन्। न त उनीहरू धर्मविरोधी नै हुन्। उनीहरु पनि रमेर दशैँ मनाउँछन्। उनीहरु पनि श्रद्धापूर्वक मन्दिरलाई ढोग्छन्।
चाडपर्वको उद्देश्य पनि खुसी बाँड्नु, पारिवारिक सम्बन्ध सुमधुर बनाउनु, सामाजिक सद्भाव कायम राख्नु र अझै आध्यात्मिक चिन्तन गर्नसके चाडपर्वलाई वैदिक मूल्यमान्यताको आधारमा मनाउनु हुनुपर्ने हो। हिंसामुक्त, करुणामय र विवेकपूर्ण तरिकाले चाडपर्व मनाउने सम्भावनाबारे बहस गर्नु कुनै धर्म वा पर्वमाथि गरिएको प्रहार होइन। यो परम्परालाई सुधार गर्दै लैजाने प्रयास हो।
अधिकारकर्मीमाथि निराधार आरोप नलगाऔं
नेपालमा “डलर खेती”, “डलरे” र “विदेशीबाट सञ्चालित” जस्ता शब्दहरू सुनिने गर्छन्। कुनै व्यक्ति वा संस्थाले वैदेशिक सहयोग प्राप्त गरेको आधारमा नै उसको उद्देश्य गलत छ भन्ने शङ्का गरिन्छ। तर, आर्थिक सहयोग प्राप्त गर्नु र गलत उद्देश्य राख्नु एउटै कुरा होइन।
समाजमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानव तथा पशु अधिकारका क्षेत्रमा काम गर्न आर्थिक स्रोत आवश्यक पर्दछ। आर्थिक वा अन्य सहयोग लिएको आधारमा मात्रै कुनै व्यक्ति वा संस्थालाई सही वा गलत ठहर्याउन मिल्दैन।
धेरै पशु अधिकारकर्मीले आफ्नै समय, श्रम र व्यक्तिगत स्रोत खर्च गरेर पशुहितका लागि काम गरिरहेका हुन्छन्। कतिपयले पशुको उद्धार, उपचार र पालनपोषणमा समेत आफ्नो जीवन समर्पित गरेका छन्।
त्यसैले कसैको नियतमाथि प्रश्न उठाउनुअघि प्रमाण खोज्नु आवश्यक छ। विचारसँग असहमति छ भने त्यसको खण्डन तर्क र तथ्यका आधारमा गर्नुपर्दछ।
अरूलाई शङ्का गर्नुअघि आफैंलाई प्रश्न गरौं
पशु अधिकारको विषयमा आवाज उठाउनेमाथि आलोचना गर्नुअघि आफैंलाई प्रश्न गर्न पनि जरुरी हुन्छ। किनभने अरुलाई गरिने प्रश्न कतिको उपयुक्त छ भनेर बुझ्न आफ्नो समीक्षा पनि गर्नुपर्दछ। हामीले आफैंलाई, के म मांसाहार गर्ने भएकाले यो तर्क गरिरहेको त होइन? कतै स्वादको कारण पशुको पीडालाई बेवास्ता त गरिरहेको छैन? म कुनै सामाजिक वा सांस्कृतिक मान्यताले ग्रसित त छैन? मैले पर्याप्त अध्ययन र निष्पक्ष चिन्तन बिना अरुमाथि आरोप लगाएको त होइन? जस्ता प्रश्न गर्नु जरुरी छ।
पशु र मानिसको जीवन, क्षमता र आवश्यकता समान छैनन्। तर, दुवैले पीडा महसुस गर्दछन्। दुवै संवेदनशील प्राणी हुन्। त्यसकारण हामीले गर्नुपर्ने एउटा महत्त्वपूर्ण प्रश्न हो, यदि पशुको ठाउँमा मानिस भएको भए के म यसरी नै आलोचना गर्थे?
आत्मचिन्तन बिना अरुमाथि निराधार आरोप लगाउनु सभ्य व्यक्ति र विकसित समाजको पहिचान होइन।






