


मोरङ । विराटनगरका एक रेष्टुरेन्ट व्यवसायी मृत अवस्थामा फेला परेका छन्। विराटनगर महानगरपालिका–३ का ५१ वर्षीय व्यवसायी मनोज खत्री मोरङको केराबारी गाउँपालिकास्थित जंगलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।



मोरङ प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार खत्रीको शव शनिबार अपराह्न केराबारीस्थित धारापानी जंगलभित्र रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो।





प्रहरी नायब उपरीक्षक मिश्रले उनको साथबाट चाबीको रिङ भेटिएको बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक खत्री विराटनगरको पिपल चोक र गोल्छा चोकस्थित पिजफायर नामक रेष्टुरेन्टका सञ्चालक हुन्। जर्मनीमा ६ वर्ष बसेर नेपाल फर्किएका खत्री व्यापारमा खासै फाइदा नपाएपछि पुनः दुबईमा रोजगारीका लागि पुगेका थिए। दुबईमा करिब २ वर्ष बसेर विराटनगर फर्किएका उनी रेष्टुरेन्ट व्यवसायमा सक्रिय रहेका थिए।






