


धनगढी । सुदूरपश्चिम प्रदेशको बजेट निर्माण तथा पारित गर्ने प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित सबै मन्त्रीलाई नैतिकताका आधारमा राजीनामा दिन माग गरेको छ ।


नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले आर्थिक वर्ष २०८३र८४ को बजेट निर्माण र पारित गर्ने प्रक्रियामा प्रदेश सरकारले गैरजिम्मेवार व्यवहार देखाएको निष्कर्ष निकालेको हो ।





कांग्रेसले बजेटजस्तो संवेदनशील विषयमा संवैधानिक, कानुनी, राजनीतिक र नैतिक जिम्मेवारी पूरा गर्न नसकेको भन्दै मुख्यमन्त्रीसहित मन्त्रीहरूले तत्काल राजीनामा दिएर सरकारबाट बाहिरिनुपर्ने निर्णय गरेको जनाएको छ ।


बैठकले बजेट पारित गर्ने प्रक्रियामा सभामुखको भूमिकामाथि समेत प्रश्न उठाएको छ । प्रतिपक्षसँग छलफल, संवाद र सहमति नगरी जानकारीसमेत नदिई संसदीय समिति गठन तथा पूरक बजेट ल्याउने प्रक्रिया अघि बढाइएको कांग्रेसको आरोप छ ।
सभामुखले संसदीय समिति गठन र पूरक बजेट ल्याउने विषयमा निर्णय गरेपछि बजेट पारित गर्ने प्रक्रिया अघि बढाउनु गैरसंसदीय अभ्यास भएको कांग्रेसको ठहर छ । यस्तो कार्यले संसदीय मर्यादा, प्रणाली र मूल्य–मान्यतामाथि प्रश्न उठाएको बैठकको निष्कर्ष छ ।
निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले पनि यसअघि बजेट निर्माणमा चलखेल भइरहेको दाबी गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका थिए ।
कांग्रेस संसदीय दलले बजेटजस्तो गम्भीर विषयमा प्रतिपक्षसँग पर्याप्त छलफल र सहमति निर्माणको प्रयास नगरी सदन सञ्चालन गरिएको भन्दै आपत्ति जनाएको छ । साथै, सभामुखलाई आफ्नो पदको मर्यादा र संवैधानिक जिम्मेवारीअनुसार भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।






