


धनगढी । कञ्चनपुरमा प्रहरीले १० लाख बढिको अवैध सामान बरामद गरेको छ भने तीन जनालाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाएको छ । आइतबार र सोमबार गरेर प्रहरीले १० लाख ४९ हजार ३८५ बराबरको अवैध सामान बरामद गरेर कारवाहीका लागि भन्सार कार्यालय बुझाइएको जनाएको छ ।



सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाअनुसार प्रदेश र जिल्लाको संयुक्त टोलीले आइतबार मात्र पाँच लाख १७ हजारको सामान बरामद गरेको थियो । साइकलका पाटपुर्जा, ट्युब, मिठाइ, मोटरसाइकल, माछा र पेय पदार्थ बरामद गरिएको हो ।





यस्तै, तीन लाख ७४ हजार २२५ बराबरका कपडा, खाद्यान्न र किरानाका सामान पनि बरामद गरिएको छ । सोमबार भने अवैध सामान ओसारपसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । प्रदेश प्रहरी कार्यालय र जिल्लाको संयुक्त टोलीले भीमदत्त नगरपालिका–१८ को कारागार रोडबाट एक लाख ५७ हजार बराबरको अवैध सामानसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–२ बस्ने ५० वर्षीय लप्टन चौधरी, ११ बस्ने किसनदत्त जोशी र वडा नं.१७ बस्ने लबराज चटौत रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट भारतीय नम्बरको एउटा मोटरसाइकल, चेक स्पोकेट, ब्रेक र प्लाष्टिक बरामद गरिएको छ । सुदूरपश्चिम प्रहरीले पछिल्लो समय सीमा क्षेत्रमा चोरी तस्करी नियन्त्रण तथा रोकथाममा कडाइ गरेको छ ।






