


नेपालीहरूको महान् पर्व तिहारको अवसरमा दार्चुलामा चौथो संस्करणको बालशिखर प्रिमियर लिग (बीपीएल) खुला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।


रोयल बालशिखर युथ ग्रुप, महाकाली नगरपालिका–९ थाप्लाको आयोजनामा प्रतियोगिता कात्तिक २० देखि २३ गतेसम्म बालशिखर खेल मैदानमा सञ्चालन हुने भएको हो।






खेलकुदको विकाससँगै आपसी भाइचारा, एकता र खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समूहका सदस्य योगेश धामीले जानकारी दिए।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले कात्तिक १९ गते साँझसम्म टिम दर्ता गरिसक्नुपर्नेछ। टिम दर्ता शुल्क ५ हजार ५०० रुपैयाँ तोकिएको छ।
प्रतियोगिताको विजेता टिमले नगद ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले १२ हजार रुपैयाँसहित ट्रफी हात पार्नेछ।






