


धनगढी । कात्तिक १ गते पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–८ को खुटिया पुल नजिकै मोटरसाइकलको ठक्करबाट स्थानीय तारादेवी धामी गम्भीर घाइते भइन् । पहिचान नै नखुलेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको अहिले पनि निसर्ग हस्पिटलमा उपचार भइरहेको छ ।


१२ कात्तिकमा धामीका आफन्तले प्रहरीले ठक्कर दिने मोटरसाइकल र व्यक्तिको पहिचान नगरेको भन्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरे । लगत्तै इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) हिरा सिंह महरा त्यहाँ पुगे ।





महराले स्थानीयसँग घटनाबारे अनुसन्धान गरिरहेको बताउँदै स्थानीयसँग दुई दिनभित्र पत्ता लगाएर पक्राउ गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसपछि उनीहरु अवरुद्ध राजमार्ग खुलाउन तयार भए । डीएसपी महराले स्थानीयसँग जनाएको प्रतिबद्धतामा सफलता पाएका छन् ।


धामीलाई ठक्कर दिएर फरार भएका व्यक्तिलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । ती व्यक्ति सशस्त्र प्रहरी बलको करातेका राष्ट्रिय खेलाडी प्रदीप मगर भएको खुलेपछि इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उतैबाट पक्राउ गरेर कैलाली ल्याएको छ ।
स्रोतकाअनुसार मगरलाई हलचोकस्थित सशस्त्र प्रहरीको हेटक्वाटरबाट नियन्त्रणमा लिइएको हो ।
मगरलाई पक्राउ गर्न हेटक्वाटरमै इप्रका मालाखेतीको टोली पुगेपछि पक्राउ नगर्न दबाब समेत थियो तर, कानुनी कारवाहीको विषय भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमै लिएर छाड्यो । उनलाई हेटक्वाटरबाट इप्रका मालाखेतीका प्रहरी नायब निरीक्षक(सई) नवराज पाण्डेको टोलीले नियन्त्रणमा लिएको हो ।
महिलालाई ठक्कर दिएर घटनाबाट उम्किन चलाखीपूर्ण तरिका अपनाएका कराते खेलाडी मगर अन्ततः प्रहरीको सफल अनुसन्धानपछि कानुनी कारवाहीको दायरामा आएका छन्। उनलाई पत्ता लगाउन प्रहरीले निकै सघन र सुक्ष्म अनुसन्धान गर्नु परेको जनाएको छ ।
अब, पीडित पक्षको मागअनुसार मगरलाई कारवाही प्रक्रिया अघि बढाइनेछ । पीडित पक्षले घाइते अवस्थाकी धामीको उपचार खर्च व्यहोर्ने तथा क्षतिपूर्ति दिने अंगभंग गरेको अभियोगमा मुद्दा चलाउन माग गर्न सक्छन् ।
डीएसपी हिरासिंह महराले मालाखेती प्रहरीको कमान्ड सम्हालेयता विभिन्न जघन्य प्रकृतिका अपराध तथा घटनामा सफल अनुसन्धान गरेर निष्कर्षमा पुगाउने काम भइरहेका छन् ।
यो घटनालाई पनि त्यसैको उदाहरणका रुपमा लिन सकिन्छ । प्रहरीको रेकर्डअनुसार अहिले इप्रका मालाखेतीमा गम्भीर खालका कुनै पनि घटना विचाराधिन अवस्थामा छैनन् । इप्रका मालाखेतीको कार्य शैलीको प्रहरी संगठनभित्र समेत प्रशंसाको विषय बनेको प्रहरी अधिकृतहरु बताउँछन् ।






