


धनगढी । कैलालीको गोदावरीमा मृत भेटिएका युवकको पहिचान खुलेको छ । आइतबार बिहान गोदावरी नगरपालिका–४ स्थित पुलमुनि मृत भेटिने युवक २७ वर्षीय शेरबहादुर रानामगर भएको प्रहरीले जनाएको छ ।



उनी गोदावरी नगरपालिका–४ कै स्थानीय बासिन्दा हुन् । स्थानीयकाअनुसार उनी प्रायः मादक पदार्थ सेवन गरी हिँड्ने र मानसिक सन्तुलनसमेत ठीक नभएका व्यक्ति हुन् । प्रहरीकाअनुसार शनिबार पिकनिक खान गोदावरी पुगेका एक समूहसँग उनले झगडा गर्न खोजेका थिए ।





पिकनिक खाइरहेका बेला जबरजस्ती उनीहरुको दाउ समातेर प्रहार गर्न खोजेपछि भागेर ज्यान जोगाएका थिए । त्यसपछि प्रहरी पुगेको थियो । प्रहरीले मगरलाई आमाबुवाको जिम्मा लगाएको थियो ।

तर भोलिपल्ट भने उनी मृत भेटिएका हुन् । घटनाबारे जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट गोदावरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ। मृत्युको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






