लोकतन्त्रमाथि प्रहार भए कांग्रेस चुप बस्दैन : महामन्त्री पौडेल

cp new add
Nisharg hospital
Dhangadhi

जनकपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा उत्रिन बाध्य हुने बताए ।

पौडेलले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुनेमा समेत संशय उत्पन्न भएको भन्दै सरकारले निर्वाचनको तयारी र प्रतिबद्धताबारे स्पष्ट पार्नुपर्ने बताए । निर्धारित समयमा निर्वाचन नगराएर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने अवस्था स्वीकार्य नहुने उनको भनाइ छ ।

स्थानीय तहको निर्वाचन दलीय प्रतिस्पर्धाबिना स्वतन्त्र उम्मेदवारबीच मात्रै गराउने व्यवस्था ल्याउन संविधान संशोधन आवश्यक पर्ने उल्लेख गर्दै उनले सरकारले त्यसका लागि कुनै ठोस तयारी नगरेको टिप्पणी गरे । उनले कांग्रेस तत्काल सडक आन्दोलनमा जाने पक्षमा नरहेको स्पष्ट पार्दै सरकारलाई सचेत गराउने र शान्तिपूर्ण तथा विधिसम्मत ढङ्गले आफ्ना असहमति राख्ने बताए ।

तर सरकारको हठ र अलोकतान्त्रिक व्यवहार जारी रहे लोकतन्त्रको रक्षाका लागि अन्य राजनीतिक शक्तिसँग सहकार्य गरेर आन्दोलनमा उत्रिन कांग्रेस पछि नहट्ने उनको चेतावनी छ ।

सरकारले नागरिकका आवाज र असहमतिलाई सुन्नुपर्ने बताउँदै पौडेलले लोकतन्त्रको रक्षा र निर्धारित समयमा निर्वाचन सम्पन्न गर्नु नै कांग्रेसको प्रमुख सरोकार रहेको बताए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...