इनमको नाम जोडेर स्टाटस लेखेका झापाका युवा मृत फेला, मानसिक समस्या रहेको प्रहरीको दाबी

cp new add
Nisharg hospital
Dhangadhi
विराटनगर । बिचौलिया इनम सापकोटाको नाम जोडेर सामाजिक सञ्जालमा स्टाटस लेखेका झापाका एक युवा घरमै मृत फेला परेका छन्। कनकाई नगरपालिका निवासी यशु खतिवडाले दुई दिनअघि आत्महत्या गरेका हुन्।
फोटोग्राफी तथा भिडियोग्राफी व्यवसाय गर्दै आएका खतिवडा लक्ष्मीपुरमा फोटो स्टुडियो सञ्चालन गर्थे। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनी आफ्नै कोठामा चुकुल लगाएर मृत अवस्थामा फेला परेका थिए।
आत्महत्या गर्नुअघि उनले सामाजिक सञ्जालमा आफूबाट कमजोरी भएको भन्दै परिवारलाई दोष नदिन र आफूलाई माफ गरिदिन आग्रह गरेका थिए। उनका केही स्टाटसमा प्रहरी हिरासतमा रहेका बिचौलिया इनम सापकोटाको नामसमेत उल्लेख थियो।

खतिवडाले इनमको ह्वाट्सएपबाट आफूलाई म्यासेज आएको र म्यासेज डिलिट गरिएको दाबी गर्दै आफ्नो परिवार तथा निर्दोष बुबालाई फसाउने प्रयास भइरहेको उल्लेख गरेका थिए। यद्यपि उनले इनमसँगको सम्बन्ध र आफूले उल्लेख गरेको ‘साधना’बारे स्पष्ट खुलाएका छैनन्।

उनका छिमेकी तथा बाल्यकालदेखिका साथी लीलाराज झापालीले खतिवडा केही दिनदेखि मानसिक समस्यामा रहेको बताएका छन्। उनका अनुसार खतिवडाको व्यवहार सामान्य रहेकाले यस्तो निर्णय गर्लान् भन्ने कसैले अनुमान गरेको थिएन।

मानसिक समस्या रहेको प्रहरीको दाबी

जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वसुन्धरा खड्काले खतिवडामा मानसिक समस्या रहेको प्रारम्भिक जानकारी आएको बताइन्। उनले इनम सापकोटासँगको सम्बन्धबारे भने अहिलेसम्म केही नखुलेको बताइन्।

‘उनी मानसिक रोगी रहेछन्। सोही कारण आत्महत्या गरेको हुन सक्छ,’ खड्काले भनिन्।

उनका अनुसार मृतकको पोस्टमार्टम भइसकेको छ भने परिवारले अन्त्येष्टिका लागि शव बुझिसकेको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको र इनमसँग कुनै सम्बन्ध वा कनेक्सन भए अनुसन्धानपछि खुल्ने उनले बताइन्।

खतिवडाको आजै अन्तिम संस्कार गरिएको उनका साथी लीलाराजले जानकारी दिएका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...