

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका बेला ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैदमुक्त भएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका छन् ।
रायमाझी कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार उनले २५ प्रतिशत कैद छुट पाएका थिए ।
एमालेले आजदेखि काठमाडौँमा आयोजना गरेको राष्ट्रिय भेलामा रायमाझी सहभागी भएका हुन् । भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा विभिन्न तहका जनप्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने एमालेले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझीलाई काठमाडौँ जिल्ला अदालतले चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए ।

