

धनगढी । कञ्चनपुरमा वन संरक्षणकर्मीकै ट्याक्टर अवैध काठ ओसारपसारमा प्रयोग भएको पाइएको छ भने उक्त कार्यमा उनकै छोराको समेत संलग्नता खुलेको छ ।
तर, ५२ क्युफिट काठसहित एक जनालाई भने प्रहरीले पक्राउ गरि वनको जिम्मा लगाएको छ । घटना, कृष्णपुर नगरपालिका–२, वाणीको हो । सुदूरपश्चिम प्रदेश सभाका पूर्व सांसद समेत रहेका वन संरक्षणकर्मी महेशप्रसाद जोशीको निजी ट्याक्टरमा काठ ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले सोही ठाउँका उमेशप्रसाद कलौनीलाई नियन्त्रणमा लिएको छ ।
उनी जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष पनि हन् । तर, ट्याक्टर चलाइरहेका संरक्षणकर्मी जोशीका छोरा भने फरार भएका छन् । आइतबार साँझ इलाका प्रहरी कार्यालय झलारीको टोलीले से १ त २३६७ नम्बरको ट्याक्टरमा लोड गरी लैजाँदै गरेको अवस्थामा ५२ क्युफिट सालको काठसहित स्थानीय कलौनीलाई नियन्त्रणमा लिएको थियो।
घटनाबारे वन डिभिजन कार्यालय कञ्चनपुरले अनुसन्धान थालेको छ भने त्यसको अनुसन्धान अधिकृत सब डिभिजन वन कार्यालय वाणीका वन अधिकृत निरञ्जन कणाललाई अनुसन्धान अधिकृत तोकेको छ। वनले कलौनीमाथि १० दिन म्याद थपेर अनुसन्धान गरिरहेको छ ।
डिभिजन वन कार्यालयले हाल नियन्त्रणमा रहेका कलौनीको खेतमा ढलेको रुख काटिएको पाइएको जनाएको छ । तर, वन कार्यालयको अनुमति नलिएको खुलेको छ ।
स्थानीय स्रोतका अनुसार उक्त काठ जोशीकै सःमिलमा लैजाँदै गर्दा पक्राउ परेको दाबी गरिएको छ। यस विषयमा ट्याक्टर धनी समेत रहेका संरक्षणकर्मी जोशीले प्रतिक्रिया दिन अस्वीर गरेका छन् । उनले त्यसबारे वनले ट्याक्टर लगेर अनुसन्धान गरिरहेको बताउदै फोन काटिदिए । दोस्रो पटक फोन गर्दा भने उनले उठाएनन् ।

