बेइजिङको सैन्य परेडलाई ट्रम्पले भने- अमेरिका विरूद्धको षड्यन्त्र

cp new add
Nisharg hospital
suchana
Nast new

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङमा बुधबार भएको सैन्य परेडलाई अमेरिकाविरुद्धको षड्यन्त्र भनेका छन्।

दोस्रो विश्वयुद्ध अन्त्य भएको खुशीयालीमा चीनले बुधबार बिहान बेइजिङमा सैन्य परेडसहितको भव्य समारोह गरेको छ।सैन्य परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन पहिलोपटक एकै मञ्चमा देखिएका थिए। सँगै इरानी राष्ट्रपति मसउद पेजेश्कियन पनि थिए।

युक्रेनमा युद्ध अन्त्य गर्नका लागि ट्रम्पले रूसी राष्ट्रपति पुटिनलाई अगस्ट १५ मा आफ्नै भूमिमा बोलाएर छलफल गरेका थिए। तर अहिलेसम्म युद्धविराम हुन सकेको छैन। युद्धविरामका लागि वार्ताको टेबलमा बस्नका लागि ट्रम्पले दिएको दुई साताको अल्टिमेटम सकिनै लागेको छ।

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न रूसलाई सेना र हतियार प्रदान गर्दै आएको छ। उत्तर कोरियासँग अमेरिकाको सम्बन्ध अगाडिदेखिनै राम्रो छैन।ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेलगत्तै अमेरिका र चीनबीचको व्यापार युद्ध उत्कर्षमा पुगेको थियो।

इरानमा केही महिनाअघि इसराइलसँग मिलेर अमेरिकाले शक्तिशाली बम हमला गरेको थियो।तिक्ततापूर्ण सम्बन्ध रहेका चारै देशका नेताहरू बेइजिङ परेडमा काँधमा काँध मिलाएर सहभागी भएपछि ट्रम्पले त्यसलाई अमेरिकाविरुद्धको षड्यन्त्र भनेको सिएनएनले जनाएको छ।

‘राष्ट्रपति सी र चीनका अद्भुत जनतालाई दीर्घकालीन खुशीको दिन शुभकामना। कृपया अमेरिकाविरुद्ध षड्यन्त्र गर्दै गरेका पुटिन र किम जोङ–उनलाई पनि मेरो तर्फबाट अभिवादन पुर्‍याइदिनुहोस्,’ ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्।

चीनलाई स्वतन्त्र बनाउन अमेरिकाले ठूलो योगदान गरेको पनि ट्रम्पले ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्।’ठूलो प्रश्न भनेको राष्ट्रपति सीले अमेरिकाले दिएको सहयोग र त्यागलाई स्मरण गर्छन् कि गर्दैनन् भन्ने हो,’ ट्रम्पले भनेका छन्।

साङ्घाइ कोअपरेसन अर्गनाइजेशन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन पुगेका थिए।त्यहाँ उनले रूसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीसँग छुट्टाछुट्टै लामो छलफल गरेका थिए।

सी, पुटिन र मोदी पनि काँधमा काँध मिलाएर हिँडेको दृश्यले अमेरिकामा तहल्का मच्चाएको थियो। पछिल्लो समय रूसी तेल किनेर भारतले युक्रेन युद्धमा रूसलाई सघाएको भनेर अमेरिकाले उसमाथि ५० प्रतिशत भन्सार दर लगाएको छ।

चर्को भन्सार दर लगाए पनि अमेरिकालाई कुनै जवाफ नदिएर मोदीले अमेरिकाविरुद्ध चीन र रूससँग सम्बन्ध विस्तार गर्न खोजेको विश्लेषण छ।वाशिङ्टनका विश्लेषकहरूले ती राष्ट्रहरूले अमेरिकाविरुद्ध ध्रुवीकरण गरेको बताएका छन्।राष्ट्रपति ट्रम्प भने यसबारेमा चिन्तित नरहेको भनेर सिएनएनले लेखेको छ।

मंगलबार बिहान ट्रम्पले स्कट जेनिङ्स शोमा दिएको अन्तर्वार्तामा कुनै पनि देशले अमेरिकामाथि आक्रमण गर्न नसक्ने बताएका छन्।’हामीसँग संसारकै सबैभन्दा शक्तिशाली सेना छ। उनीहरूले कहिल्यै पनि हामीमाथि आक्रमण गर्ने छैनन्। गरे त्यो उनीहरूको अन्तिम गल्ती हुनेछ,’ उनको भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...