
काठमाडौं । जेनजी युवा आन्दोलनको क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण सुरु गरिएको छ । मन्त्रालयले जारी गर्ने परिचयपत्रका आधारमा आन्दोलनका घाइतेहरुले सहज उपचार पाउनेछन् ।

आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले ट्रमा सेन्टरमा गएर घाइतेहरुलाई परिचयपत्र वितरण गरे । सोमबारदेखि नै देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई परिचयपत्र बाड्न परिपत्र भएको छ ।
गृह मन्त्रालयको निर्णय बमोजिम जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरणसँगै अस्पतालहरुमा डेडिकेटेड जेनजी क्लिनिक समेत स्थापना गरिएको छ । घाइतेहरुको फलोअप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशभरका १६ अस्पतालहरुमा जेनजी क्लिनिक स्थापना गरिएको हो ।
साथै जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पतालसम्म निस्शुल्क आउ–जाउको व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ ।घाइतेहरुको बर्गिकरण गर्न उपचारमा संलग्न विज्ञ डाक्टरहरुको संयोजकत्वमा कार्यदल गठन हुनेछ । आइतबार बस्ने मन्त्रिपरिषद बैठकले यसवारे निर्णय गर्नेछ ।
एकपटक उपचार गरी पटकपटक फलो अपमा जानुपर्ने घाइतेहरुका लागि स्वास्थ्य मन्त्रालयले वा सम्बन्धित अस्पतालले निशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउनेछन् । जेनजी आन्दोलनका घाइतेहरुको उपचारमा सहजताका लागि अस्पतालहरुमा फोकल व्यक्तिहरु पनि तोकिएको छ ।
यी हुन् जेन–जी क्लिनिक स्थापना गरिएका अस्पतालहरू
काठमाडौं उपत्यकामा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताल ९सिभिल अस्पताल०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जेन–जी क्लिनिक स्थापना गरिएको छ । कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।
यसैगरी बागमती प्रदेशमा चितवनको भरतपुर अस्पताल र गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिानमा जेनजी क्लिनिक स्थापना गरिएको छ । लुम्बिनीमा भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तथा सुदूरपश्चिममा डडेलधुरा अस्पताल र गेटा अस्पताल धनगढीमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।

