


नयाँ दिल्ली । तमिलनाडुस्थित औषधि कम्पनी स्रसेन फार्माले उत्पादन गरेको विषाक्त खोकीको झोल औषधि ‘कोल्ड्रिफ’को सेवनका कारण भारतको मध्य प्रदेश राज्यमा कम्तीमा २० बालबालिकाको मृत्यु भइसकेको छ ।


यो भयानक घटनापछि मध्य प्रदेश प्रहरीले चेन्नईबाट कम्पनीका मालिक रंगनाथनलाई पक्राउ गरेको छ । धेरै राज्यहरूमा यो सिरपका कारण बालबालिकाको मृत्यु भएको रिपोर्टहरू देखा परेका छन्, जसले स्वास्थ्य र नियामक प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ ।



प्रहरीका अनुसार, कोल्ड्रिफ सिरपमा मिसावट पुष्टि भएको छ । यो सिरप मध्य प्रदेशमा व्यापक रूपमा वितरण गरिएको थियो र यसको सेवन गरेपछि धेरै बालबालिकाले गम्भीर स्वास्थ्य समस्या भोग्नु परेको थियो । स्रसेन फार्माका मालिक एस रंगनाथनलाई हिजो राति पक्राउ गरिएको छिन्दवाडाका प्रहरी अधीक्षक अजय पाण्डेले एएनआईलाई बताएका छन् ।
उनलाई चेन्नईको अदालतमा पेस गरिनेछ र ट्रान्जिट रिमान्ड प्राप्त गरेपछि छिन्दवाडा (मध्य प्रदेश)क ल्याइने भनिएको छ ।रंगनाथनको हिरासतपछि, प्रहरी र स्वास्थ्य विभागले स्रसेन फार्मा विरुद्ध अनुसन्धान तीव्र पारेको छ । सिरपको उत्पादनमा गुणस्तर मापदण्डलाई बेवास्ता गरिएको र परिणामस्वरूप घातक उत्पादन बजारमा पुगेको प्रारम्भिक अनुसन्धानले खुलासा गरेको छ ।
मध्य प्रदेश प्रहरीले चेन्नईस्थित कम्पनीको कार्यालयमा छापा मारेर धेरै कागजातहरू जफत गरेको छ । यस घटनामा थप गिरफ्तारी सम्भव भएको अधिकारीहरूले बताएका छन् । सिरपको वितरण सञ्जाल र उत्पादन बेच्ने फार्मेसीहरूमाथि पनि अनुसन्धान भइरहेको छ । कोल्ड्रिफ सिरप प्रयोग गर्न तुरुन्तै बन्द गर्न र आफ्ना बच्चाहरूको लागि तत्काल चिकित्सा सहायता उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।
