
४ कात्तिक, धनगढी । मधेशी जनअधिकार फोरममा आवद्ध अरुणकुमार चौधरी २०७४ सालको निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसबाट उम्मेदवार बने । युवाहरुमा लोकप्रिय चौधरीलाई नेकपा एमाले र माओवादी सम्मेलित बाम गठबन्धनका उम्मेदवारलाई टक्कर दिने ठानेर नै कांग्रेसले पार्टीमा भित्र्याउदै उनलाई प्रदेशसभाको टिकट दिएको थियो ।

चौधरीले चुनाव त जितेनन् तर बाम गठबन्धनका उम्मेदवार रहेका माओवादी केन्द्रका नन्दकुमार साउदलाई कडा टक्कर दिए । साउदले १२०७७ मत प्राप्त गर्दा चौधरीले ११२३२ मत ल्याएँ । उनीहरु बीचको मत अन्तर ८४५ मात्र थियो । त्यो बेला बाम गठबन्धनका साउदलाई झण्डै पराजीत गर्न आटेकै कारण चौधरीको चर्चा चुलिएको थियो ।
२०७४ को चुनावपछि सोही क्षेत्रमा रहेर सक्रिय राजनीति गरेका चौधरी नेपाली कांग्रेसको महासमिति सदस्य थिए तर पाँच वर्षपछि भने उनी फरक ठाउँमा आइपुगेका छन् । टीकापुर घटनामा कैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ती पार्टीबाट उम्मेदवार बनेका चौधरी अहिले प्रदेशसभा नभएर प्रतिनिधिसभामा चुनाव लडिरहेका छन् ।
उमेरले ३७ वर्षमा लागेका चौधरी दुई जना पूराना र पाका उम्मेदवारसँग प्रतिस्पर्धामा उत्रिएका छन् । अघिल्लो चुनावमा दुई दलिय गठबन्धनलाई झेलेका चौधरीले यसपटक भने पाँच दलीय गठबन्धन र बलियो प्रतिपक्षी नेकपा एमालेसँगको चुनाव सामना गर्नुपर्ने छ ।
एमालेबाट २०७४ सालमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका झपट रावल र गठबन्धनबाट २०६४ को संविधानसभा सदस्यको चुनाव जितेका माओवादी केन्द्रका भगत बडुवाल उम्मेदवार बनेका छन् । धेरैले गठबन्धनका बडुवाल र एमालेका रावलबीच प्रतिस्पर्धा हुने दाबी गरिरहेका बेला अरुण चौधरी भने आफ्नो प्रतिस्पर्धामा कुनै उम्मेदवार नभएको बताउँछन् ।
पूराना दलसँग जनता आजित हुनु, दुवै जना टेष्टेड हुनु, उत्पीडनमा परेको थारु र दलितको बाहुल्यता, पहिचान र अधिकारका मुद्दा लगायतका कारणले आफ्नो जित सुनिश्चित भएको चौधरीको भनाइ छ । ‘हामी अहिले सबै क्षेत्रमा वडा, टोल कमिटि गठन गरेर व्यापक चुनावी प्रचारप्रसारमा सक्रिय छौँ । यो क्षेत्रका मतदाताले परिवर्तन खोजेका छन्,’ चौधरीले भने, ‘मेरो क्षेत्रमा उठेका उम्मेदवार टेष्टेड भइसकेकाले परिवर्तन खोजिरहेका युवाहरुले मलाई जिताउँछन् ।’
चुनाव जित्ने अर्को आधार भनेको करीब ३५ हजारको हाराहारीमा थारु मत र २० हजारको हाराहारीमा दलित मतदाता पनि भएको उनको तर्क छ । थारु समुदायबाट मात्र २० हजार मत आफूले पाउने दाबी चौधरीको छ ।

