त्रिनगर–गौरीफन्टा नाकामा कैलाली उद्योग वाणिज्य संघको अनुगमन
कैलाली उद्योग वाणिज्य संघको त्रिनगर–गौरीफन्टा नाकामा अनुगमन, किनमेलका लागि भारत जाने ९०% आवागमन घट्यो



कैलाली उद्योग वाणिज्य संघले त्रिनगर–गौरीफन्टा नाकामा अनुगमन गरेको छ। स्थलमार्ग हुँदै भारतबाट आयात हुने एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार लाग्ने नियम कार्यान्वयनको अवस्था बुझ्न संघको टोली आज बिहान नाकामा पुगेको हो।
अनुगमनका क्रममा भारतीय सीमावर्ती बजारमा किनमेलका लागि जाने नेपालीको संख्या ८० देखि ९० प्रतिशतसम्म घटेको पाइएको संघका अध्यक्ष पुष्करराज ओझाले जानकारी दिए। “सशस्त्र प्रहरी र एसएसबीसँग पनि हामीले छलफल गर्यौं,” अध्यक्ष ओझाले भने, “उहाँहरूले पनि रोजगारीका लागि हुने आवतजावतबाहेक किनमेलका लागि जानेको संख्या करिब ९० प्रतिशतले घटेको बताएका छन्।”

ओझाले भन्सार नाकामा मात्र नभई खुला सीमाको फाइदा उठाउँदै हुने अनौपचारिक सामान आयात रोक्न सबै निकायले कडाइ गर्नुपर्ने बताए। उनका अनुसार केवल भन्सार कर लगाएर मात्रै दीगो समाधान नहुने भन्दै स्वदेशमै उत्पादन बढाउने वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गर्नुपर्ने आवश्यकता छ। “स्वदेशमै उत्पादन बढाउन सकियो भने उपभोक्ताले सस्तोमा सामान पाउने, रोजगारी पनि बढ्ने र अर्थतन्त्र पनि चलायमान हुन्छ,” उनले भने।
संघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशीले एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार कर लाग्ने व्यवस्था कार्यान्वयन भएपछि व्यवसायीहरूले यसलाई सकारात्मक रूपमा लिएको बताए। उनले यसलाई अवसरका रूपमा उपयोग गर्दै उपभोक्तालाई गुणस्तरीय सामान सुपथ मूल्यमा उपलब्ध गराउन व्यवसायीलाई आग्रह गरिएको जानकारी दिए। संघको टोलीले कैलाली भन्सार कार्यालयसँग भन्सार छली नियन्त्रणका विषयमा पनि छलफल गरेको छ।
भन्सार महसुल ऐन, २०८१ अनुसार स्थलमार्ग हुँदै भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार कर तिर्नुपर्ने व्यवस्था छ। नयाँ सरकार गठनपछि यो व्यवस्था कडाइका साथ लागू गरिएको हो।
