
१६ कात्तिक, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा लक्ष्मण चौधरीको उम्मेदवारी खारेज भएसँगै उम्मेदवार बिहिन बनेको नागरिक उन्मुक्ती पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ ।

नागरिक उन्मुक्ती पार्टीले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका जगदीश चौधरीलाई समर्थन गर्ने भएको हो । नागरिक उन्मुक्ती पार्टीका केन्द्रीय सदस्य गंगाराम चौधरीले पार्टीका आधिकारीक उम्मेदवार लक्ष्मण चौधरी उम्मेदवारी खारेजी भएपछि स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए ।
टीकापुर घटनामा उच्च अदालत दिपायलले जन्म कैदको सजाय तोकेपछि फरार भएका लक्ष्मणले वारेस मार्फत नागरिक उन्मुक्ती पार्टीका तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका थिए । तर उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।
चौधरी २०७४ सालको निर्वाचनमा समेत कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए । उन्मुक्ती पार्टीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार जगदिश त्यो बेला उनको प्रचारप्रसारमा सक्रिय थिए ।
प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ती पार्टीको उम्मेदवारी कायम छ । प्रदेशसभा (१) मा श्रीराम चौधरी र प्रदेशसभा (२) मा गोठुराम चौधरीले उम्मेदवारी दिएका छन् ।

