

धनगढी । युवा व्यवसायी धिरेन्द्र सावद निर्माण व्यवसायी संघ कैलालीको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष दीर्घराज जोशीको प्यानलबाट उम्मेदवारी दिएका सावद सर्वसम्मत रूपमा वरिष्ठ उपाध्यक्ष चयन भएका हुन् ।
महासचिवसहित सात पदका लागि मतदान भए पनि अन्य पदाधिकारी र सदस्यहरूको टुंगो सर्वसम्मत रूपमा लागेको थियो । बुवाको विरासत थाम्दै निर्माण व्यवसायमा सक्रिय बनेका सावद संघको कार्यसमिति सदस्य, नीतिगत उपमहासचिव र प्रथम उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षसम्मको यात्रामा पुगेका हुन् ।
कैलालीमा लामो समयदेखि निर्माण व्यवसाय, सामाजिक सेवा र संस्थागत नेतृत्वमा सक्रिय सावद व्यवसायिक वृत्तमा परिचित नाम हो। २०४१ असार २९ गते अछामको चौरपाटी गाउँपालिका–१ सिउडीमा जन्मिएका उनको परिवार २०३८ सालतिर कैलाली बसाइँ सरेका थिए । हाल उनी धनगढी उपमहानगरपालिका–२ रातोपुलमा बसोबास गर्दै आएका छन् ।
निर्माण व्यवसायसँगै सावद मेडिकल क्षेत्रमा पनि आबद्ध छन् । उनी धनगढीस्थित माया मेट्रो अस्पतालका सञ्चालकमध्ये एक हुन् । धनगढीको एसपीए कलेजबाट व्यवस्थापन संकायमा स्नातक गरेका उनले काठमाडौँको भीएस निकेतन कलेजबाट स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।
निर्माण व्यवसाय सावदको पारिवारिक पृष्ठभूमिसँग जोडिएको क्षेत्र हो । बुवाले सुरु गरेको व्यवसायलाई निरन्तरता दिँदै उनी हाल सावद कन्स्ट्रक्सन कम्पनी प्रालि सञ्चालन गरिरहेका छन् । ‘ए’ वर्गको उक्त निर्माण कम्पनी व्यवसायिक क्षेत्रमा परिचित मानिन्छ ।
व्यवसायसँगै संस्थागत नेतृत्वमा पनि सावद सक्रिय छन् । उनी नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा अस्पताल एशोसिएसन सुदूरपश्चिम प्रदेशका कोषाध्यक्षसमेत हुन् । लायन्स, जेसिजलगायत विभिन्न सामाजिक संस्थामार्फत उनी सामाजिक गतिविधिमा पनि सक्रिय रहँदै आएका छन् ।
कोरोना महामारीका बेला उनले सुदूरपश्चिम फाउन्डेसनको महासचिवका रूपमा काम गरेका थिए । त्यसक्रममा भारतबाट फर्किएका नेपाली तथा संक्रमितहरूको सेवामा सक्रिय भूमिका निर्वाह गरेका थिए । महामारीको कठिन समयमा राहत, समन्वय र सहयोग अभियानमा उनको योगदान उल्लेखनीय मानिन्छ ।
निर्माण व्यवसायी संघ कैलालीको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएपछि सावदले निर्माण व्यवसायीहरूको हकहित, व्यवसायिक सुरक्षा, पारदर्शिता तथा निर्माण क्षेत्रको सुधारका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । युवा पुस्ताको प्रतिनिधित्व गर्दै नेतृत्व तहमा पुगेका सावदलाई व्यवसायिक र सामाजिक दुवै क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा हेरिएको छ ।

