

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनका लागि खटाएका कर्मचारी लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाहीको लखेटाइमा परेका छन् ।
शाहीले नगर प्रहरी परिचालन गरेर कर्मचारीहरुलाई कार्यालयबाटै बाहिर लखेटेकी हुन् । प्रदेश सरकारले खटाएपछि अस्पताल प्रवेश गर्न खोज्दा नगर प्रमुख शाहीले अपमानजनक व्यवहार गर्दै कार्यालय प्रवेशमै अवरोध गरेको कर्मचारीहरूले बताएका छन् ।
लम्कीचुहा अस्पतालका लागि प्रदेश सरकारले आठौँ तहका मेडिकल अफिसर डा. कमलेश प्रसाद यादव, छैटौँ तहका लेखा अधिकृत गणेश विष्ट र नायब सुब्बा लक्ष्मी श्रेष्ठलाई खटाएको थियो । १५ वैशाखमा सामाजिक विकास मन्त्रालयको सचिवस्तरीय निर्णयले डा. यादवलाई र आर्थिक मामिला मन्त्रालयले विष्टलाई सरुवा गरेर त्यहाँ पठाएको थियो ।
तर कर्मचारीहरू हाजिर हुन सोमबार अस्पताल पुगेका थिए । लगत्तै नगर प्रहरी परिचालन गरी कार्यालय प्रवेशमै रोक लगाइएको उनीहरूको भनाइ छ । कर्मचारीहरूका अनुसार लेखा अधिकृत गणेश विष्ट र नासु लक्ष्मी श्रेष्ठलाई कार्यालय परिसरबाटै बाहिर निकालिएको थियो ।
“यो अस्पतालमा प्रदेश सरकारको कुनै अधिकार छैन” भन्दै आफूहरूमाथि अपमानजनक व्यवहार गरेको आरोप कर्मचारीको छ । १५ शैयाको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा विकास गर्ने नीतिअनुुसार प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।
तर, सरकारले समन्वय बिना प्रादेशिक अस्पताल घोषणा गरिएको भन्दै लम्कीचुुहा नगरपालिकाकी मेयर शाही विरोधमा छिन् ।
१४ वैशाखमा सर्वोच्च अदालतले लम्कीचुहा अस्पताल विवादसम्बन्धी निर्णय गर्र्दै प्रदेश सरकारका नाममा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । नगरपालिकाले चैत २४ गते अस्पताल सञ्चालनसम्बन्धी विवादलाई लिएर सर्वोच्च अदालतमा रिट दायर गर्दै अन्तरिम आदेश माग गरेको थियो ।
सर्वोच्चको उक्त निर्णयसँगै प्रादेशिक अस्पताल सञ्चालनको बाटो खुलेकोे थियो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा अस्पताल सञ्चालनका लागि साढे चार करोड रुपैयाँ विनियोजन गरिसकेको छ । सामाजिक विकास मन्त्रालयकाअनुुसार अस्पतालका लागि १४६ जनाको दरबन्दीसमेत स्वीकृत भइसकेको छ ।
यसअघि अस्पतालको ब्यानर अनावरण कार्यक्रमका दिन मेयर शाहीले अस्पतालको मूल गेटमा दमकल, एम्बुलेन्सलगायतका सवारीसाधन तेस्र्याएर कार्यक्रम अवरुद्ध गरेकी थिइन् ।

