
धनगढी । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय सुनाइएपछि फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय र मातहतको इलाका प्रहरी कार्यालय दोधाराचाँदनीबाट खटिएको संयुक्त प्रहरी टोलीले फरार प्रतिवादीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराएको हो।
पक्राउ पर्नेमा अपहरण तथा व्यक्ति बेपत्ता सम्बन्धी कसुरमा दोषी ठहर भएका बिरेन्द्र साउद रहेका छन्। जिल्ला अदालतको २०८२ साल जेठ ३० गतेको फैसलाअनुसार उनीलाई १० वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना सजाय तोकिएको थियो।
यस्तै, लागूऔषध (खैरो हिरोइन) सम्बन्धी मुद्दामा दोषी ठहर भएका गणेश सुनार पनि पक्राउ परेका छन्। अदालतको २०८२ साल चैत २३ गतेको फैसलाअनुसार उनलाई १ वर्ष कैद सजाय तोकिएको थियो।
दुवै प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले जानकारी दिएका छन्।

