सुदूरपश्चिम प्रदेशमा कांग्रेसले मन्त्री टुंग्याउँदै गर्दा एमालेभित्र पनि हेरफेरको दबाब बढ्यो

cp new add
Nisharg hospital
suchana
Nast new

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मन्त्री हेरफेरको अन्तिम तयारी तीव्र बनाएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो पक्षबाट एक मन्त्री र एक राज्यमन्त्री तथा देवानसिंह विष्ट पक्षले दुई मन्त्री र एक राज्यमन्त्री छनोटका लागि आन्तरिक छलफल गरिरहेका छन्। असन्तुष्ट पक्षसँग हिजो भएको वार्तापछि आज दुवै पक्षले नाम टुंग्याउने तयारी गरेका हुन्।

यता सत्ता साझेदार नेकपा (एमाले) भित्र पनि मन्त्री हेरफेरको बहस चर्किएको छ। हाल एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हिरा सार्की र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा निर्मला साउदले जिम्मेवारी सम्हालिरहेका छन्। उनीहरू सबै २०८१ साउनमा मन्त्री नियुक्त भएका हुन्।

झण्डै दुई वर्षदेखि निरन्तर सरकारमा रहेका उनीहरूले यस अवधिमा दुई पटक बजेटसमेत प्रस्तुत गरिसकेका छन्। अब नयाँ बजेटको तयारी भइरहेका बेला पार्टीभित्रै अन्य सांसदहरूले पनि आफूहरूलाई अवसर दिनुपर्ने भन्दै मन्त्री हेरफेरको माग उठाउन थालेका छन्।

एमालेका केही सांसदहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा समेत मन्त्री हेरफेरको विषय उठाएको बताइएको छ। ओलीले यसबारे परामर्श गर्ने संकेत दिएको उनीहरूको भनाइ छ।

“कांग्रेसले अहिले मन्त्री फेर्ने तयारी गरिरहेको छ, त्यसैअनुसार हाम्रो पार्टीभित्र पनि हेरफेर आवश्यक छ,” एमालेका एक सांसदले भने। उनका अनुसार यो विषय केन्द्रमा समेत छलफलको चरणमा पुगेको छ।

यसैबीच एमालेका केही नेताहरूले लामो समयदेखि मन्त्री बनेकाहरूलाई हटाएर नयाँ अनुहारलाई अवसर दिनुपर्ने दबाब बढाइरहेका छन्। उनीहरूले सुदूरपश्चिममा सरकार सञ्चालनलाई अझ प्रभावकारी बनाउन नेतृत्व परिवर्तन आवश्यक भएको तर्क गर्दै आएका छन्।

कांग्रेसले मन्त्री छनोटको अन्तिम तयारी गरिरहँदा एमालेभित्र पनि मन्त्री हेरफेरको बहस चर्किँदै गएको छ, जसले सुदूरपश्चिमको सत्ता समीकरणमा नयाँ राजनीतिक सरगर्मी थपिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...