कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालविरुद्ध स्थानीयको नाराबाजी, स्पष्ट कार्ययोजना नआएको भन्दै आक्रोश




करिब १५ वर्षदेखि अलपत्र अवस्थामा रहेको कमला पुलको स्थलगत निरीक्षण गर्न शनिबार साँझ पुगेका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल स्थानीयको विरोध र नाराबाजीको सामना गर्न बाध्य भएका छन्। पुल निर्माणको विषयमा स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक नगरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका हुन्।
सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला पुलको निरीक्षणका लागि मन्त्री लम्साल शनिबार साँझ करिब ६ बजे पुगेका थिए। मन्त्रीको आगमनसँगै स्थानीय युवा तथा सरोकारवालाहरू पनि पुलस्थलमा भेला भएका थिए। उनीहरूले मन्त्रीसँग पुल निर्माण कहिले सम्पन्न हुन्छ भन्ने प्रश्न गरेका थिए। तर अपेक्षित जवाफ नपाएपछि केही युवाले नाराबाजी गरेका थिए। हुलाकी कमला पुल संघर्ष समितिका संयोजक इन्जिनियर प्रविन यादवका अनुसार मन्त्री लम्सालले “हामी बोल्न होइन, काम गर्न आएका हौं, काम गरेर देखाउँछौं” भन्ने प्रतिक्रिया दिएका थिए। तर पुल निर्माणको भविष्य, कार्यतालिका वा निर्माण मोडालिटीबारे कुनै स्पष्ट धारणा नआएपछि स्थानीयवासी असन्तुष्ट बनेका थिए।
यादवले भने, “कमला पुल कहिले बन्छ, पुरानै संरचनालाई निरन्तरता दिइन्छ कि नयाँ योजना ल्याइन्छ भन्ने विषयमा मन्त्रीले केही पनि स्पष्ट पार्नुभएन। त्यसैले स्थानीयमा आक्रोश बढ्यो।” यद्यपि स्थानीय नरेशचन्द्र बरबरियाका अनुसार मन्त्री लम्सालले निर्माणमा संलग्न ठेकेदार र सम्बन्धित अधिकारीहरूसँग छलफल गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका थिए। मन्त्री निरीक्षणका लागि आउने खबरले स्थानीयमा केही आशा जगाएको भए पनि उनले सार्वजनिक रूपमा ठोस प्रतिबद्धता व्यक्त नगरेको भन्दै असन्तुष्टि चुलिएको बताइन्छ। केही युवाले मन्त्रीतर्फ मोबाइल तेर्स्याउँदै “पुल कहिले बन्छ?” भनेर प्रश्न गरेको सुनिन्छ। तर मन्त्रीको जवाफ स्पष्ट सुनिँदैन। त्यसलगत्तै केही युवाले हात उठाउँदै नाराबाजी गरेका थिए।
मन्त्रीको टोली फर्किने क्रममा स्थानीयले “फोटो खिचाउन मात्र होइन, जवाफ दिन पनि आउनुपर्छ” र “मधेशलाई उपेक्षा गर्न पाइँदैन” जस्ता नारा लगाएका थिए। प्रत्यक्षदर्शीका अनुसार केही आक्रोशित व्यक्तिले मन्त्री सवार गाडीको बाटो छेक्ने प्रयाससमेत गरेका थिए। तर जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकले मन्त्रीको भ्रमणपछि सामान्य नाराबाजी भएको स्वीकार गर्दै गाडी अवरोध गरिएको भन्ने दाबी अस्वीकार गरेका छन्। उनका अनुसार मन्त्रीको सवारी सुरक्षित रूपमा फर्किनका लागि प्रहरीले सामान्य सहजीकरण मात्र गरेको थियो।
स्थानीयवासीहरूका अनुसार कमला पुल निरीक्षणका लागि अहिलेसम्म मन्त्री लम्सालसहित १८ जना मन्त्री पुगिसकेका छन्। तर वर्षौंदेखि पुल निर्माण सम्पन्न हुन नसक्दा जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको छ। उनीहरूले अब निरीक्षण र आश्वासनभन्दा बढी ठोस निर्णय र निर्माण सम्पन्न हुने निश्चित समयसीमाको माग गरेका छन्।
