धनगढीमा भारतीयसँग मिलेर युवतीले गरिन् विहे गर्ने वचन दिएका प्रेमीको हत्या, शव व्यवस्थापनमा आमा बुवाकै सहयोग




धनगढी । धनगढीको मोहना नदीमा मृत भेटिएका कैलारी गाउँपालिका— ९ गदरियाका २० वर्षीय राजकुमार रानाको हत्यामा उनकै प्रेमीका गिता रानाको संलग्नता रहेको पाइएको छ ।
धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा बेवारिसे अवस्थामा मृत फेला परेका रानाको उनैसँगै विवाह गर्ने तयारीमा रहेकी प्रेमिका रानाले हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कैलालीका एक प्रहरी अधिकृतकाअनुसार धनगढीकै बांग्रा कटान बस्ने ती युवती र मृतक लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।
घरपरिवारलाई समेत दुई जनाको सम्बन्धबारे थाहा थियो । उनीहरु चाडै विवाह गर्ने तयारीमा थिए । तर यहीबीचमा युवती भारतीय युवकसँग पनि प्रेम सम्बन्धमा रहेको कुरा नेपाली प्रेमीले थाहा पाएका थिए । सोही विषयलाई लिएर प्रेमी, प्रेमिकाबीच पछिल्लो सयम विवाद बढेको थियो ।
विवादकै कारण भारतीय नागरिकसँग मिलेर युवतीले रानाको हत्या गरेर मोहना नदीमा शव फालेको अनुसन्धानले देखाएको प्रहरी बताउँछ । शव व्यवस्थापनका युवतीका बुवाआमाले नै सघाएकाे खुलेकाे छ ।
युवककाे कैलारीबाट धनगढीस्थित युवतीकाे घरमा आएका बेला हत्या गरिएको थियाे ।युवतीसहित प्रहरीले उनका आमाबुबा ६० वर्षीय बम्मन राना र ५८ वर्षीया भँगु रानालाई पक्राउ गरेकाे छ । उनीहरु दुवै जनाले हत्यापछि शव व्यवस्थापनमा छाेरी र उनीसँगै प्रेममा रहेका भारतीय युवकलाई सहयोग गरेको अनुसन्धानले देखाएको छ । हत्या पछि आमाबुवा घरमै बसिरहेका थिए भने छाेरी गीतालाई युवकसँगै भारत पठाएका थिए ।
भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी बुधबार बिहान कैलाली ल्याइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ । गीताका अर्का प्रेमी भारतीय युवक भने फरार रहेका छन्।
