शान्त कैलाली कारागारमा केही कैदीबन्दीकाे सरुवा गर्न फेरि दबाब, कारागार प्रशासन भन्छ- जानकारी छैन्

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कैदीबन्दीबीचको विवाद र हिंसात्मक घटनाका कारण बेलाबेला चर्चामा आउने कैलाली कारागार पछिल्लो समय तुलनात्मक रूपमा शान्त देखिएको छ।

तर, केही कैदीबन्दीको सम्भावित सरुवाबारे विभिन्न तहमा दबाब बढ्न र चर्चा चल्न थालेपछि याे विषय पुनः बहसमा आएकाे छ ।

गत साउनमा कारागारभित्र दुई समूहबीच भएको मनमुटाव र द्वन्द्वले हिंसात्मक बनेपछि धनगढीका भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए।

उक्त घटनापछि कारागार व्यवस्थापन र सुरक्षा व्यवस्थाप्रति व्यापक प्रश्न उठेकाे थिए भने कैलाली प्रहरीका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नर सिंह राणा र प्रमुख जिल्ला अधिकारी(सीडीओ) गाेगनबहादुर हमाल तानिएका थिए ।

उक्त घटनापछि त्यसयता कारागारमा शान्ति कायम रहेको बताइन्छ। जेनजी आन्दोलनपछि विभिन्न कारागारबाट फर्किने कैदीबन्दीहरूको संख्या पनि बढिरहेको छ।

यही बीचमा केही कैदीबन्दीको सरुवाका लागि दबाब दिइएको भन्ने चर्चा बाहिर आएको छ। यद्यपि, यसबारे आधिकारिक पुष्टि भने भएको छैन।

कारागार स्रोतका अनुसार बडुवाल हत्या प्रकरणमा जन्मकैदको सजाय भोगिरहेका नवीन रावलसहितको समूहले बन्दीगृहभित्रको आन्तरिक व्यवस्थापनमा भूमिका निर्वाह गरिरहेको छ।

जेनजी आन्दोलनअघि याे समूह सरूवा भएर विभिन्न  कारागार रहेका बेला कारागारमा झगडा भएको थियो । जेनजी आन्दोलनपछि फेरि कैलाली फर्किएदेखि नै यहाँ आन्तरिक समस्या नरहेकाे बताइन्छ ।

त्याे बेला उनी फर्किएपछि कारागारभित्रको वातावरण थप व्यवस्थित भएको दाबी केही कैदीबन्दी र स्रोतहरूले गरेका छन्।

यद्यपि, अहिले अर्को पक्षले नवीन रावलसहित केही कैदीबन्दीलाई अन्यत्र सरुवा गर्न पहल गर्दै दबाब दिइरहेको  आराेप लागेकाे छ । तर यसबारे कुनै आधिकारिक निर्णय वा प्रक्रिया सार्वजनिक भएको छैन।

कारागार प्रशासन भने सरुवासम्बन्धी विषयमा औपचारिक जानकारी आफूहरूसम्म नआएको बताउँछ। कैलाली कारागारका निमित्त जेलर वसन्त जोशीले हालसम्म कुनै कैदीबन्दीको सरुवाबारे औपचारिक प्रक्रिया अघि नबढेको जानकारी दिए।

“अहिलेसम्म सरुवासम्बन्धी कुनै आधिकारिक पत्राचार वा निर्णय आएको छैन। बाहिर विभिन्न किसिमका चर्चा हुन सक्छन्, तर प्रशासनले आधिकारिक प्रक्रियाका आधारमा मात्रै काम गर्छ,” उनले भने।

यस्तै, कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पनि कैदीबन्दी सरुवासम्बन्धी कुनै प्रस्ताव वा निर्णय आफ्नो जानकारीमा नआएको बताए।

उनका अनुसार कैदीबन्दी सरुवा गर्ने विषय कानुनी प्रक्रिया, सुरक्षा अवस्था, चालचलन तथा आवश्यकताका आधारमा सम्बन्धित निकायबाट तय हुने गर्दछ। “कसैको दबाब वा प्रभावका आधारमा नभई निर्धारित मापदण्डअनुसार मात्रै सरुवाको निर्णय हुने व्यवस्था छ,” रेग्मीले बताए।

कारागारभित्र शान्ति कायम रहेको अवस्थामा सरुवासम्बन्धी चर्चाले विभिन्न अड्कलबाजी जन्माएको भए पनि सम्बन्धित निकायहरूले हालसम्म कुनै औपचारिक निर्णय नभएको स्पष्ट पारेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...