


धनगढी । कैलालीका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने २ सय मिलिग्राम पदार्थसहित धनगढी उपमहानगरपालिका–१ निवासी २४ वर्षीय पवन गुप्तालाई बिहीबार बिहान पक्राउ गरिएको हो। अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको प्रहरी टोलीले उनलाई शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेको जनाएको छ।
यस्तै, टिकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने १ ग्राम ७० मिलिग्राम धुलो पदार्थसहित टिकापुर नगरपालिका–१ ब्लक नम्बर २३ निवासी १८ वर्षीय एक किशोरलाई बिहीबार साँझ पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाको संयुक्त टोलीले शंका लागेपछि चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको थियो।
दुवै घटनामा बरामद पदार्थ नियन्त्रणमा लिई पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

