श्रीमती हत्या प्रकरणमा ‘नेपाली ब्रो’को बयान: ‘रिसको आवेगमा घाँटी रेटेँ, चक्कु बाटोछेउको बारीमा फालेँ’

cp new add
Nisharg hospital

श्रीमती ईश्वरी भुजेलको हत्या आरोपमा पक्राउ परेका टिकटकमा ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापाले अदालतमा दिएको बयानमा रिसको आवेगमा हत्या गरेको स्वीकार गरेका छन्।

Telecome

काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दामा उनले घटनाको दिन श्रीमतीलाई पछ्याएर धारिलो चक्कुले घाँटी रेटी हत्या गरेको र घटनापछि प्रयोग गरिएको चक्कु बाटोछेउको बारीमा फालेर त्यहाँबाट भागेको बयान दिएका हुन्।

उनका अनुसार घटनाको दिन घरमा भएको विवाद र जेठो छोरासँग फोनमा भएको भनाभनपछि आफू अत्यधिक तनाव र रिसमा थिए।

बयानमा उनले भनेका छन्, “म गाडीबाट झरेँ, सधैं साथमा बोक्ने धारिलो चक्कु गोजीमा राखेर श्रीमतीको पछिपछि गएँ। उनले स्कुटर रोकेर घरतर्फ जाँदै गर्दा पछाडिबाट समातेर नियन्त्रणमा लिएँ र चक्कुले घाँटी रेटेँ। उनी त्यहीँ मरेकी होलिन् भन्ने ठानेर त्यहाँबाट हिँडेँ।”

थापाले वारदातमा प्रयोग भएको चक्कु गाडी रोकेको स्थान नजिकै बाटोछेउको बारीमा फालेको र त्यसपछि कार चलाएर बालाजुतर्फ गएको पनि स्वीकार गरेका छन्। प्रहरी कार्यालयतर्फ जाँदै गर्दा आफू पक्राउ परेको उनको भनाइ छ।

प्रहरी अनुसन्धानका अनुसार लामो समयदेखिको पारिवारिक कलह, वैवाहिक विवाद तथा दुवै पक्षबीचको विवाहेत्तर सम्बन्धको आशंकाले सम्बन्ध चर्किँदै गएपछि हत्या भएको निष्कर्ष निकालिएको छ।

थापाले बयानमा आफू र श्रीमतीबीच पटक–पटक विवाद भएको, टिकटकमार्फत प्रतीक्षा आचार्यसँग प्रेम सम्बन्ध विकसित भएको र त्यसकै कारण श्रीमतीसँग सम्बन्ध झन् बिग्रिएको स्वीकार गरेका छन्।

उनका अनुसार श्रीमतीले आफूविरुद्ध घरेलु हिंसा र वैवाहिक बलात्कारसम्बन्धी उजुरीसमेत दिएकी थिइन्। ती मुद्दा मिलाउन पटक–पटक प्रयास गरे पनि सफल हुन नसकेको उनले बताएका छन्।

यस प्रकरणमा प्रहरीले कुमार थापासहित उनकी प्रेमिका प्रतीक्षा आचार्य, भाइ विक्रम थापा मगर र साथी पुजन थापा क्षेत्रीविरुद्ध मुद्दा दर्ता गरेको छ।

कुमार थापामाथि श्रीमतीको हत्या गरेको आरोपमा कर्तव्य ज्यानसम्बन्धी कसुर लगाइएको छ भने अन्य तीन जनामाथि हत्या गर्न दुरुत्साहन गरेको आरोपमा अभियोजन गरिएको छ।

हाल काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान र थुनछेक बहस जारी छ। अदालतले बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्नेबारे आदेश दिनेछ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...