
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बोनम्यारो ( रक्तमासी ) प्रत्यारोपण सेवा सञ्चालनको तयारी थालेको छ। नेपाल सरकारसँगको सहकार्यमा चीन सरकारले भवन निर्माण, उपकरण खरिद तथा चिकित्सक र नर्सलाई तालिम दिने गरी परियोजना अघि बढाएको हो।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार चिनियाँ प्राविधिक टोलीले आवश्यक पूर्वाधारको अध्ययन गरिसकेको छ। नेपाल सरकारसँग पुनः सम्झौता भएपछि तीनतले भवन निर्माण सुरु गरिनेछ।
करिब ३७ मिलियन चिनियाँ युआन लागतको परियोजनाअन्तर्गत पाँच शय्याको बोनम्यारो प्रत्यारोपण युनिट निर्माण हुनेछ। हाल अस्पतालका चिकित्सक र नर्स चीनमा तालिम लिइरहेका छन् भने थप जनशक्तिलाई पनि प्रशिक्षण दिइँदैछ।
अस्पतालका अनुसार निर्माण कार्य सुरु भएको करिब डेढ वर्षभित्र सेवा सञ्चालनमा ल्याउने लक्ष्य छ। सेवा सुरु भएपछि बोनम्यारो प्रत्यारोपणका लागि विदेश जानुपर्ने बाध्यता कम हुने र बिरामीले स्वदेशमै कम खर्चमा उपचार पाउने अपेक्षा गरिएको छ।

